दिपेन्द्र यादव/ सुनसरी – विपद् प्रभावित गर्भवती महिलाहरुलाई स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी (NRCS) सुनसरी जिल्ला शाखाको आयोजनामा र युएनएफपीए (संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष) र युनाइटेड नेशनको CERF को सहयोगमा डिग्निटी किट वितरण कार्यक्रम भोकाहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको छ। यस कार्यक्रमअन्तर्गत गाउँपालिकाका ८ वटै वडाका ७७६ गर्भवती महिलालाई डिग्निटी किट हस्तान्तरण गरिएको हो।कार्यक्रमको पहिलो चरणमा हिजो, मंसिर ९ गते, वडा नम्बर १, २, ३ र ४ का ३६७ गर्भवती महिलालाई डिग्निटी किट वितरण गरिएको थियो। स्वास्थ्य शाखा प्रमुख हिरालाल साहका अनुसार आजको कार्यक्रमको दोस्रो चरणमा वडा नम्बर ५, ६, ७ र ८ का ४०९ गर्भवती महिलालाई डिग्निटी किट वितरण गरिएको हो। यसरी, कुल ७७६ महिलालाई डिग्निटी किट प्रदान गरिएको छ।किटमा साबुन, सेनेटरी प्याड, साडी, टर्च लाइट, व्यक्तिगत स्वच्छता सामग्री र अन्य आवश्यक सामग्रीहरू रहेका छन्, जसले महिलाहरूको स्वास्थ्य र स्वच्छताको ख्याल राख्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
हिजो शुक्रबार भएको कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी भोकाहा नरसिंह गाउँपालिका उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिको रूपमा भोकाहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रमको महत्त्वलाई उद्घाटित गर्दै, यस कार्यले विपद् प्रभावित गर्भवती महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।डिग्निटी किट प्राप्त गरेपछि विभिन्न वडाका महिलाहरूले कार्यक्रमको प्रभाव र महत्त्वको बारेमा आफ्ना विचार राखेका थिए ।
साे कार्यक्रममा वडा नम्बर ८ की प्रविणा खातुन, वडा नम्बर ७ की रामवती मेहता, र वडा नम्बर ५ की ललिता मण्डलले किटका सामग्रीहरूले स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।त्यसैगरी गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले आगामी दिनहरूमा महिलाको स्वास्थ्य र सशक्तिकरणका लागि विशेष पहल गर्ने प्रतिवद्धता जनाउँदै भने, “हाम्रो पालिका महिला स्वास्थ्य र सशक्तिकरणका क्षेत्रमा अग्रसर हुने बताए ।
विभिन्न कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउने र उनीहरूको जीवनस्तर सुधार्ने महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ।” उनले थपे, “भविष्यमा गर्भवती र सुत्केरी महिलाहरूका लागि यस्ता कार्यक्रमहरूको निरन्तरता दिनेछौँ, जसले उनीहरूको स्वास्थ्य र समग्र जीवनशैलीमा सुधार ल्याउन मद्दत गर्नेछ।”यता पालिका अध्यक्ष आजादले महिलाहरूको स्वास्थ्य र जीवनस्तर सुधार्नका लागि पालिकाको प्रतिबद्धता दोहोर्याउँदै, कार्यक्रमहरूलाई निरन्तरता दिने कुरामा जोड दिएका थिए।
Discussion about this post