इनरुवा – सुनसरीको बराहक्षेत्र नगरपालिकाका वडा नं. १ स्थित प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्घाटन भएको छ। मंसिर ५ गते आयोजित विशेष समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यमा र बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा भवनको शिलालेख अनावरण गर्दै समुद्घाटन गरिएको हो।
समारोहमा सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खापुङले भवन निर्माण सम्पन्न भएकोमा सम्बन्धित सबैलाई बधाई तथा धन्यवाद व्यक्त गरे। उनले भने, “धरतीको पहिलो तीर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकीको नयाँ भवन उद्घाटन भइ नागरिकलाई उत्कृष्ट सुरक्षा सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।” साथै, उनले आगामी दिनमा प्रहरी सेवाको गुणस्तरमा वृद्धि र अपराध नियन्त्रणमा थप सफलता मिल्ने विश्वास व्यक्त गरे।
नयाँ भवनको उद्घाटनपछि खापुङले प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीलाई भवनको संरचना र सुविधाबारे जानकारी दिएर जनसेवामा थप सुधार गर्न निर्देशन पनि दिए। उनले भवनको सरसफाई र मर्मतसम्भार नियमित रूपमा गर्नका लागि आवश्यक कदम चाल्न सुझाए।
नव निर्मित भवनको निर्माण कार्य नेपाल सरकारको नियमित बजेटअन्तर्गत ३ करोड १९ लाख ४० हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो। अढाई तल्ले भवनमा कार्यालय, भान्साघर र शौचालय लगायतका सुविधाहरु उपलब्ध छन्।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक्ट हरी डंगोलले भवन निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारले सम्बोधन गर्दै शुभकामना दिएका थिए।
समारोहमा जिल्ला सुरक्षा निकायका प्रमुख, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रजित बहादुर क्षेत्री, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, संघसंस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी र स्थानीयवासीहरूको ठूलो उपस्थिति थियो।
Discussion about this post