इनरुवा ।सुनसरीकोभाेक्राहा नरसिंह गाउँपालिका कार्यालय सुनसरीले २१ औं महिला सामुदायिक स्वयंसेविका दिवस “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे भुमिका, स्वास्थ्य समाज निर्माणमा सहभागीता” भन्ने मुल नाराका साथ भव्यताका साथ मनाएको छ।
कार्यक्रमको उद्घाटन भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षतामा प्रमुख अतिथि अजमल अख्तर आजाद र विशिष्ट अतिथिका रूपमा सुवर्ण घिमिरेले संयुक्तरूपमा गरेका थिए। अन्य अतिथिहरूमा वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ८ का वडाध्यक्ष उसमान मियाँ (भाेला हाजी), कार्यपालिका सदस्य रामेश्वर खत्वे, र स्वास्थ्य शाखा प्रमुख हिरा साह लगायतका व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमको सुरुवात र्यालीबाट भएको थियो, जसमा महिलाहरूको स्वास्थ्य सेवा र सामुदायिक स्वास्थ्यको महत्व बारे जनचेतना फैलाउने उद्देश्यले सहभागी सबै जनाले उत्साहपूर्वक सहभागिता जनाए।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गर्दै, कार्यक्रमको दौरान उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका रूपमा भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ कि स्वयंसेविका मुनेशवरी देवी मेहतालाई कदर पत्र र सम्मान प्रदान गरिएको छ। मुनेशवरी देवी मेहतालाई स्वास्थ्य क्षेत्रमा गरेको असाधारण योगदानको लागि सम्मान गरिएको हो।
त्यसैगरी, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ की स्वास्थ्य स्वयंसेविका सम्सा खातुनलाई उमेर हदको कारण स्वतः अवकाश दिइएको थियो। उनलाई कदर पत्र र नगद पुरस्कार सहित सम्मान गर्दै विदाई गरिएको छ। सम्सा खातुनकाे स्वास्थ्य सेवा क्षेत्रमा गरेको योगदानलाई कार्यक्रमका सहभागीहरूले उच्च मूल्याङ्कन गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि अजमल अख्तर आजादले महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण भूमिका र योगदानको बारेमा आफ्ना विचार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका समस्याहरू र समाधानका उपायहरूका बारेमा जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
विशिष्ट अतिथि सुवर्ण घिमिरेले महिला स्वयंसेविकाको सक्रिय सहभागिता र समाज निर्माणमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै महिला सशक्तिकरण र स्वास्थ्य क्षेत्रमा महिलाकाे योगदानलाई प्रोत्साहित गर्ने अवसर प्रदान गर्ने बताएका हुन् ।
कार्यक्रमका अध्यक्ष सुनिता कुमारी उराँवले स्वास्थ्य सेवा र समाजमा महिलाको स्थानलाई उच्च मूल्याङ्कन गर्दै, यस कार्यक्रमले महिलाकाे स्वास्थ्य र समाजमा भूमिका बारे नयाँ दृष्टिकोण ल्याउने विश्वास व्यक्त गरेकी छन् ।










Discussion about this post