दिपेन्द्र यादव / इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिकाकाे प्राङ्गणमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्यताका साथ सम्पन्न भएको छ। उक्त अभियानले महिला तथा बालबालिकाका हक अधिकारको संरक्षण र लैङ्गिक हिंसाको अन्त्यको दिशा तय गर्नको लागि स्थानीय समुदायलाई सशक्त बनाउन ठूलो भूमिका निभाएको छ। कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षता र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे विशिष्ट अतिथि थिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, विशिष्ट अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, कार्यपालिका सदस्य र विभिन्न वडाका वडाध्यक्षहरू लगायतका अतिथिहरू उपस्थित थिए। वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, वडा नम्बर ८ का वडाध्यक्ष उसमान अंसारी (भाेली हाजी), कार्यपालिका सदस्य जरिना खातुन, रामेश्वर खत्वे, महिला विकास निरीक्षक लक्ष्मी खतिवडा, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू, स्वास्थ्यकर्मीहरू लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको महिला तथा बालबालिका शाखाकी प्रमुख तुलशा निराैलाले जानकारी दिइन्।
सो कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष अजमल अख्तर आजादले गरेको थियोे । १६ दिने अभियानको उद्देश्य लैङ्गिक हिंसा र घरेलु हिंसाका घटनामा कमी ल्याउन जनचेतना फैलाउनु र यसको विरुद्ध प्रभावकारी कदम चाल्नु रहेको आयोजकहरूको भनाइ थियो।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले लैङ्गिक हिंसा बिरुद्धको अभियानकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने, “हाम्रो समाजमा लैङ्गिक हिंसा र घरेलु हिंसा जस्ता समस्याले समाजलाई कमजोर बनाउँछ। यसै कारण यस अभियानको महत्त्वपूर्ण भूमिका छ, जसले जनचेतना फैलाउने मात्र होइन, दुरुस्ट कदम चाल्नका लागि सबैलाई प्रेरित गर्ने कार्य पनि गर्नेछ। हाम्रा स्थानीय निकायहरूले यो अभियानको माध्यमबाट महिला र पुरुषको समानता र अधिकारको सम्मान गर्न ठूलो भूमिका खेल्नु पर्नेछ।”
आजादले थपे, “हामीलाई यस्तो हिंसा रोकेर, शान्तिपूर्ण र समानताका आधारमा समाज निर्माण गर्ने आवश्यकता छ। यस अभियानले सामूहिक प्रयास र शिक्षाका माध्यमबाट लैङ्गिक हिंसाको अन्त्य गर्न ठूलो सहयोग पुर्याउनेछ।”
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले स्थानीय तहहरूको महत्वपूर्ण भूमिका र प्रशासनको संलग्नता बारे कुरा गरे। उनले भने, “स्थानीय प्रशासनले मात्र होइन, सम्पूर्ण समुदायले लैङ्गिक हिंसाका विरुद्धको अभियानमा सक्रिय सहभागिता जनाउनु आवश्यक छ। यस अभियानका माध्यमबाट हामीलाई आफ्नो सामाजिक कर्तव्य र दायित्वको सचेतना दिन्छ। लैङ्गिक हिंसा विरोधी कानूनको कार्यान्वयन र यसमा जनसमुदायको सहभागिता अत्यन्त महत्त्वपूर्ण छ।”
घिमिरेले चेतावनी दिँदै भने, “यो केवल महिला र बच्चाहरूको मात्र समस्या होइन, यो समाजको समग्र समस्या हो। त्यसैले हामी सबैलाई मिलेर यो अभियानको भागीदार हुनुपर्छ।”
साे कार्यक्रमका अध्यक्ष र गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले गाउँपालिका स्तरमा यो अभियानको प्रभावकारिता र महत्त्वलाई व्याख्या गर्दै भने, “हामीले यो अभियानलाई विशेष ध्यान दिइरहेका छौं किनभने लैङ्गिक हिंसा र घरेलु हिंसा जस्ता समस्याहरू हाम्रो समाजको गहिरो समस्या बनेका छन्। यस्ता हिंसा रोक्नका लागि हामी सबैको सक्रियता आवश्यक छ। यो अभियान मात्र एक १६ दिने अवधि सम्म सीमित छैन, बरु यसलाई हामीले निरन्तरता दिनुपर्छ र यसलाई दीर्घकालिक अभियानका रूपमा सञ्चालन गर्नुपर्छ। महिला, बालिका र सबै व्यक्तिका अधिकारहरूको सुरक्षा गर्नका लागि हामी स्थानीय तहमा सबै प्रयास गर्दैछौं।”
उराँवले उल्लेख गरिन्, “हामीले ग्रामीण क्षेत्रमा लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउनका लागि विशेष कार्यक्रमहरूको आयोजना गर्दै आएका छौं, र यस प्रकारको अभियानले यसै उद्देश्यलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। यस अभियानका माध्यमबाट महिला र पुरुषको समानता, र दुराचारका घटनामा कमी ल्याउनका लागि हामी सबैलाई एकजुट भएर काम गर्न प्रेरित गर्नु पर्छ।”
कार्यक्रमको समापनमा उपस्थित अतिथिहरूले लैङ्गिक हिंसा र घरेलु हिंसाको अन्त्यका लागि सबैलाई सँगै मिलेर काम गर्नको महत्त्वको कुरा गरे। यस अभियानको मुख्य उद्देश्य समाजमा जागरूकता ल्याउने र हिंसात्मक घटनाहरूको विरोध गर्नु रहेको आयोजकहरूले बताए।
महिला तथा बालबालिका शाखाकी प्रमुख तुलशा निराैलाले सबैको सहयोग र सक्रियताका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमको निरन्तरता र प्रभावकारीता सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन्।उता कार्यक्रममा उद्वघाेषण तथा व्यवस्थापन प्रशासन शाखाकी प्रमुख दीपा थापाले गरेकी थिइन् ।










Discussion about this post