इनरुवा । सुनसरीको भण्टावारी लौकही सडक खण्डको कोशी कटान नजिक सशस्त्र प्रहरीले संकास्पद अवस्थामा ठूलो मात्रामा बंगुरको मासु बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपालकाे प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमन पोखरेलको नेतृत्वमा रहेको टोलीले मासु नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीको ११ जनाको टोलीले पूर्वबाट काठमाडौँतर्फ जाने रात्रीकालीन सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा उक्त मासु फेला पारेको हो। बिना बिजक करिब २५० किलो तौलको काँचो मासु फेला परेको थियो, जसको बजार मूल्य प्रतिकिलो रु. ३०० का दरले करिब ७५ हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।
यता फेला पारेको मासुलाई सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म, हरिपुरको परिसरमा खाल्डो खनेर सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहबरमा सडाउने प्रक्रियाबाट नष्ट गरिएको छ। बिना प्रमाण र स्वास्थ्य परीक्षणको अभावमा मासु मानव उपभोगका लागि अयोग्य ठहर गरिएको जनाइएको छ।
त्यसैगरी सशस्त्र प्रहरी भन्टावारीका डिएसपी) पाेखरेलका अनुसार, यस किसिमका गैरकानूनी र स्वास्थ्यमा असर पुर्याउन सक्ने वस्तुहरूको ओसारपसार नियन्त्रण गर्न चेकजाँचलाई थप कडाइ गरिएको छ। विशेष गरी रात्रीकालीन सवारी साधनहरूले बिना प्रमाणपत्र खाद्य वस्तुहरू लैजाने सम्भावना धेरै भएकाले यस्तो जाँच आवश्यक रहेको भनाइ छ।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रहरूमा हुने गैरकानूनी व्यापार र गतिविधि नियन्त्रण गर्न नियमित रूपमा गस्ती र अनुगमन अभियान सञ्चालन गर्दै आएको छ।










Discussion about this post