इनरुवा / नगरबाट संकलित फोहोर व्यवस्थापनमा अग्रणी पालिका बन्न सफल सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले सार्वजनिक स्थलहरूको सरसफाइका लागि श्रमदान अभियान सुरु गरेको छ।
नगरपालिकाका मेयर केदार भण्डारीका अनुसार नगर क्षेत्रका सार्वजनिक महत्वका क्षेत्रहरूको सरसफाइ गर्दै स्वच्छ र सफा इनरुवा निर्माण गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो। प्रारम्भमा नगरपालिकाका नगर प्रहरी, सफाइ कर्मचारी, अन्य कर्मचारी, र जनप्रतिनिधिहरूको सहभागितामा जनश्रमदानमार्फत अभियानको सुरुवात गरिएको छ।
मेयर भण्डारीले यो अभियानलाई अझै व्यापक बनाउन इनरुवावासी र विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै बृहत् सरसफाइ महोत्सवको रूपमा अघि बढाउने योजना सुनाए।
अभियानको पहिलो चरणमा इनरुवा नगरपालिका १, ३, र ४ को सीमा क्षेत्रमा रहेको महानन्द पञ्चबटी बाल उद्यानको सरसफाइ गरिएको छ। पछिल्लो समयमा फोहोरले भरिएको उद्यानलाई सफा गर्दै बालबालिकाहरूका लागि पुनः घुम्न योग्य बनाइएको छ।
मेयर भण्डारीका अनुसार यो अभियान प्रत्येक शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुनेछ। नगर क्षेत्रका सार्वजनिक महत्वका सम्पत्तिहरूको सरसफाइ र संरक्षण गरेर आगामी केही महिनाभित्र इनरुवालाई स्वच्छ र सुन्दर बनाउने लक्ष्य राखिएको छ।
मेयर भण्डारीले नगरपालिकाका कर्मचारीहरूको श्रमदानमात्रै पर्याप्त नहुने भन्दै आम इनरुवावासी र संघसंस्थाहरूसँग सहकार्य गर्न आग्रह गरेका छन्। सार्वजनिक विदाको दिन नगरपालिकाको अभियानमा सहभागी भई समग्र इनरुवाको सहकार्यको अभियान सफल बनाउन उनले अपिल गरेका छन् ।










Discussion about this post