हरिनगर । जिल्ला सुरक्षा समिति, सुनसरीको आयोजनामा मिति २०८१ साल पुष १९ गते हरिनगर गाउँपालिका वडा नं. ४ स्थित कृषि सहकारी लिमिटेडको प्राङ्गणमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन, नागरिक सहभागिताको अभिवृद्धि गर्न र प्रहरी तथा नागरिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण छलफल भएको छ।
कार्यक्रममा जिल्ला सुरक्षा समिति सुनसरीका अध्यक्ष एवं जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामचन्द्र तिवारीको अध्यक्षता रहेको थियो। हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मिया प्रमुख अतिथिको भूमिकामा रहनुभएको थियो भने हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगत र देवानगंज गाउँपालिकाका उपाध्यक्ष विभा यादवको विशेष सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (प्रउ) सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी बल नेपाल ४ नं. हे.क्वा सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक (स.प्र.उ.) समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशक तुलसी कट्टेल, तथा अन्य उच्च अधिकारीहरुको उपस्थिति थियो।
स्थानीय सरकारका जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बजार व्यवस्थापन समितिका सदस्य, समाजसेवी तथा करिब १५० जना स्थानीय नागरिकहरूले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमका वक्ताहरूले प्रहरी सेवामा पारदर्शिता र जनताको पहुँच सुनिश्चित गर्नका लागि विविध उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। स्थानीय जनप्रतिनिधिहरूले सुरक्षा सम्बन्धी समस्याहरूलाई समाधान गर्न प्रहरी प्रशासनसँग सहकार्य गर्न प्रतिवद्धता जनाए।
प्रमुख अतिथि गफार अन्सारी मियाले यस्तो प्रकारका कार्यक्रमले प्रहरी र नागरिकबीच विश्वास बढ्ने विश्वास व्यक्त गर्दै नागरिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागिता जनाएका स्थानीय बासिन्दाले प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव र समस्या राखेका थिए। जिल्लाका विभिन्न सरकारी निकायहरूसँग समन्वय गर्दै, नागरिकको सुरक्षासम्बन्धी समस्या समाधान गर्न कार्यक्रम फलदायी भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख प्र.उ. सुमन कुमार तिम्सिनाले प्रहरी सेवाको गुणस्तर सुधार र नागरिकहरूको सुरक्षामा उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।










Discussion about this post