काठमाडौं – गृह मन्त्रालयले सहसचिव रामचन्द्र तिवारीलाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको छ। सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएका तिवारीलाई सुरक्षा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीसँगै प्रवक्ताको भूमिका पनि प्रदान गरिएको हो।
गृह मन्त्रालयको नीतिअनुसार सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी तोकिने परम्परा अनुरूप तिवारीलाई यो महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो।
सुनसरी जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा ७ महिनासम्म काम गरेका तिवारी यसअघि वाणिज्य मन्त्रालयमा दुईपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख र उद्योग विभागको महानिर्देशकका रूपमा कार्यरत थिए। गृह मन्त्रालयकै मातहतमा लामो अनुभव भएका तिवारीले मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पनि योगदान दिएका थिए। उनले अध्यागमन विभाग र कारागार व्यवस्थापन विभागमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।
तिवारी स्वच्छ छवि र प्रभावकारी नेतृत्वका लागि परिचित छन्। कार्यसम्पादनमा उनले देखाएको पारदर्शिता र कुशलताका कारण उनलाई गृह मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीमा ल्याइएको हो। गृह मन्त्रालयमा सरुवा भएसँगै उनले अर्को सातादेखि नयाँ जिम्मेवारी सम्हाल्ने बताइएको छ।
यता तिवारीको गृह मन्त्रालय सरुवापछि सुनसरीको प्रमुख जिल्ला अधिकारीका रूपमा धर्मेन्द्र कुमार मिश्रलाई पठाइएको छ। मिश्र यसअघि कैलाली जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा काम गर्दै आएका थिए। मिश्र प्रशासनिक क्षेत्रमा अनुभवी अधिकारी मानिन्छन्।
गत सोमबार गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित १२ जना कर्मचारीको सरुवा गरेको थियो। तीमध्ये सात जना प्रमुख जिल्ला अधिकारीसमेत छन्।










Discussion about this post