सुनसरी – आज देशभर माघी (मकर संक्रान्ति) पर्व उल्लासपूर्वक मनाइँदै गर्दा सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा पनि यो पर्व विशेष उत्साहका साथ मनाइएको छ।
मकर संक्रान्ति, जसलाई विशेषगरी थारु, मगर र अन्य समुदायले प्रमुख चाडका रूपमा मनाउने गर्छन्, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा मनाइन्छ। यो पर्वलाई नयाँ उत्साह र संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा लिने गरिन्छ।
यता सुनसरीकाे इनरुवा, इटहरी, धरान, भाेक्राहा नरसिंह, र देवानगञ्जलगायतका स्थानमा विशेष रूपमा थारु समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेका छन्। ढिक्री, चाकु, तिलको लड्डु, गुँदपाकजस्ता परिकारहरूको तयारी गरी सामूहिक भोज खाएर यस पर्वको महत्वलाई झल्काइएको छ।
त्यसैगरी भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ स्थित नरसिंहनाथ सामुदायिक वन तथा आपरूपी स्थापित भएको नरसिंह नाथ महादेव बाबाकाे प्रांगणमा यस वर्ष मकर संक्रान्तिकाे अवसरमा विशेष मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। स्थानीय युवा नेता पंकज यादवका अनुसार मेलामा परम्परागत नाचगान, कुस्ती प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रमहरू आयाेजना गरिएको बताएको छ।
मेला आयोजक समितिका अनुसार, यो कार्यक्रमले धार्मिक आस्था, सांस्कृतिक पहिचान र समुदायबीचको एकतालाई थप मजबुत बनाउने उद्देश्य राखेको बताए ।
त्यस्तै धरानस्थित बुढासुब्बा मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ। मकर संक्रान्तिको अवसरमा नुहाएर पवित्र हुने विश्वासका साथ सप्तकोशी नदी, बूढीखोला, र देवानगञ्जको कन्हार क्षेत्रमा स्नान गर्न मानिसहरूको भीड लागेको छ।
मकर संक्रान्तिले सुनसरीलगायत अन्य क्षेत्रमा सांस्कृतिक पहिचानसँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाएको छ। स्थानीय व्यापारीहरूले तिल, चाकु, गुँदपाक र मकर संक्रान्तिसँग सम्बन्धित सामग्रीहरूको व्यापारबाट राम्रो आम्दानी गरेका छन्।
सुनसरी जिल्लाभरका स्थानमा परम्परागत चाडपर्वलाई नयाँ पुस्ताले पनि महत्व दिन थालेका छन्। यसले हाम्रो मौलिक संस्कृतिलाई जीवन्त राख्न सहयोग पुर्याउने आशा व्यक्त गरिएको छ।










Discussion about this post