दिपेन्द्र यादव/सुनसरी – बलिदानी दिवसको अवसरमा इनरुवामा आयोजित एक भव्य कार्यक्रमले मधेसी जनताको अधिकार, पहिचान र सम्मानका लागि अझै संघर्ष जारी राख्नुपर्ने आह्वान गरेको छ। कार्यक्रममा प्रमुख वक्ताहरूले मधेसको स्वायत्तता र समृद्धिका लागि दीर्घकालीन संघर्षमा एकताको महत्त्वलाई जोड दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथि नेता दिलिपचन साहले मधेसी जनताको अधिकार सुनिश्चित गर्न र उनीहरूको सामाजिक, राजनीतिक समावेशिता सुनिश्चित गर्न सुनसरी, मोरंग र झापा जिल्लालाई मधेस प्रदेशमा समाहित गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले भने, “आज पनि हाम्रो संघर्ष जारी छ। हामीले आफ्नो पहिचान र अधिकारका लागि अझै धेरै पाउँछौं। मधेसका जिल्लाहरूलाई समेटेर एक समृद्ध र सशक्त मधेस प्रदेश बनाउनु हाम्रो मुख्य उद्देश्य हो।”
शिक्षक र समाजसेवी बिरेन्द्र यादवले शहिदहरूको समर्पण र संघर्षलाई याद गर्दै भने, “सहिद श्यामसुन्दर मेहता र हरि मेहताले देखाएको बाटोमा हिँड्न हामी सबैलाई एकजुट हुनुपर्नेछ। स्वायत्त मधेसको सपना पुरा गर्न र जनसंख्याको आधारमा राज्यमा समान अवसर हासिल गर्न हामीले कसम खाएर अघि बढ्नुपर्नेछ।”
जनताको मन्नत र भावनालाई महत्त्व दिनु पर्ने आवश्यकता बारेमा वक्ता रामचन्द्र मेहताले जोड दिँदै भने, “हाम्रो एकता भनेको जनताको साझा आवाज हो। मधेसी समाजका नेताहरू फुटेपनि, जनता एकतामा रहनु पर्छ। हामीले सधैं जनताको इच्छाअनुसार काम गर्नुपर्छ।”
जनता समाजवादी पार्टीका भोकाहा नगर अध्यक्ष महेन्द्र यादवले कार्यक्रमको क्रममा शहिदहरूको भावना र सपना लाई निरन्तरता दिन मद्दत गर्ने कुरा जनाए। उनले थपे, “मधेसी जनताले अब मधेसी नेताहरूसँगै एकजुट भएर आफ्नो अधिकार प्राप्त गर्नुपर्नेछ। साथै, विगतमा भएका ठूलाठूला दलहरूको भ्रष्टाचार र अनियमितताका कारणको भोक निल्न चाहिँ मधेसीलाई मधेसीले मतदान गर्न आवश्यक छ।”
साथै, कार्यक्रममा सहिदका परिवारका सदस्यहरू, शिक्षक फोरमका अध्यक्ष सुमन मेहता,जसपा नेपालका काेशी प्रदेश सदस्य मनाेज यादव, युवा नेता मिथलेश यादव लगायतका विभिन्न सामाजिक र राजनीतिक नेताहरूको उपस्थिति थियो। सहिद पिता शिवनारायण मेहता र शहिद माता घाइते विदिलाल मेहताले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रमको अध्यक्षता जनता समाजवादी पार्टीका इनरुवा नगर अध्यक्ष गोपाल यादवले गरेका थिए भने प्रमुख आथित्यामा पूर्व राज्य मन्त्री र पार्टीका केन्द्रीय सदस्य प्रमिला यादव उपस्थित थिइन्।










Discussion about this post