इनरुवा । सुनसरी जिल्लाका प्रख्यात प्रजातान्त्रिक नेता र समाजसेवी राम बहादुर बस्नेत ज्यूको असामयिक निधनले समग्र जिल्लामा शोकको माहौल सिर्जना गरेको छ। प्रजातन्त्र पुनरवहालीका एक अग्रणी नेता तथा नेपाली काँग्रेस पार्टीका प्रमुख नेता रहेका राम बहादुर बस्नेतको निधनले सम्पूर्ण क्षेत्रलाई स्तब्ध बनाएको छ। उहाँ सुनसरी जिल्ला विकास समितिका प्रथम सभापति र नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनुहुन्थ्यो।
नेता बस्नेतको निधनको शोकमा, सुनसरी जिल्लाका तीन प्रमुख स्थानीय तह—इनरूवा नगरपालिका , दुहबी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले शोक विदा दिने निर्णय गरेका छन्। भाेली मंगलबारको दिन यी स्थानीय तहका कार्यालयहरू, स्वास्थ्य र शैक्षिक संस्थाहरू (अत्यावश्यक सेवाबाहेक) बन्द रहनेछन्।
इनरूवा नगरपालिका, दुहबी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले भाेली ०८ गते सार्वजनिक विदा दिने निर्णय गर्दै शोक व्यक्त गरेका छन्। यस निर्णयले स्थानीय प्रशासनिक इकाइहरूलाई दिवंगत नेता श्री राम बहादुर बस्नेतको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको छ।
भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे र इनरूवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल्लीराज निरालाले स्थानीय प्रशासनलाई उक्त आदेश पालना गर्न निर्देशन दिएका छन्। उनीहरूले समस्त नागरिक र सरकारी कर्मचारीलाई दिवंगत नेता राम बहादुर बस्नेतको योगदानलाई सम्मान गर्दै शोक व्यक्त गर्न आग्रह गरेका छन्।
शोक विदा अवसरमा, सम्पूर्ण नागरिक र सरकारी कर्मचारीहरूलाई एकजुट भएर दिवंगत नेता श्री राम बहादुर बस्नेतको योगदानको मूल्यांकन गर्ने र शोक व्यक्त गर्ने अपील गरिएको छ।










Discussion about this post