इनरुवा । सुनसरीको वराहक्षेत्र नगरपालिकाले जिविस सुनसरीका पूर्व सभापति राम बहादुर बस्नेत र बराहक्षेत्र नगरपालिका वडा नं. ११ की दलित महिला सदस्य कौशिला देवी ऋषिदेवको असामयिक निधनप्रति शोक व्यक्त गर्दै मंगलबार र बुधबार दुई दिन सार्वजनिक विदा घोषणा गरेको छ। यद्यपि, यस निर्णयले सेवाग्राही र विद्यार्थीहरूको पठनपाठनमा बाधा पुर्याएको भन्दै आलोचना उठेको छ।
नगरपालिकाको यो निर्णयप्रति शिक्षक र स्थानीयवासीहरूले असन्तुष्टि जनाएका छन्। एक शिक्षकले भने, “विद्यालयमा दुई दिन विदा हुँदा विद्यार्थीहरूको पठन कार्य र हाम्रो तालिका प्रभावित भएको छ। शोक प्रकट गर्न विदा दिने सट्टा श्रद्धाञ्जली सभा, मौनधारण, वा सीमित समयको कार्यक्रम गर्न सकिन्थ्यो।”
नेकपा एमाले वराहक्षेत्रका सचिव देवेन्द्र विष्टले यो कदमलाई “फेसन र लहडको रूपमा गरिएको निर्णय” भन्दै आलोचना गरेका छन्। उनले भने, “सीमित व्यक्तिलाई रिझाउन विदा दिनु हुँदैन। बरु उनीहरूको योगदानको सम्मानमा तस्वीर राखेर स्मरण गरिनु पर्थ्यो। यसरी विदा दिएर नगरले आफ्नो अपरिपक्वता प्रदर्शन गरेको छ।”
यसैबीच, नगरपालिकाका प्रवक्ता गौरी रायले आफू हाल तालिममा रहेको र यस विषयमा पछि प्रतिक्रिया दिने बताएका छन्।
विदाका कारण स्थानीय सेवाग्राहीहरूले कार्यालयमा सेवा नपाएको र विद्यार्थीहरूको पढाइ प्रभावित भएको जनाउँदै जानकारहरूले सार्वजनिक विदा दिने परिपाटीलाई पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्। उनीहरूको भनाइमा, शोक प्रकट गर्ने वैकल्पिक विधिहरू अपनाएर पनि समाजको भावनालाई सम्बोधन गर्न सकिन्छ।
शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यस्तो निर्णय गर्दा यसको दीर्घकालीन प्रभावलाई ध्यानमा राखी सन्तुलित निर्णय लिनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन्।










Discussion about this post