सुनसरी । नव-निर्मित प्रहरी चौकी रामगंञ्ज बेलगछिया शुक्रबारे सुनसरीको कार्यालय भवनको समुद्घाटन भएको छ। माघ १० गते बिहान एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
भवनको समुद्घाटन पश्चात, प्रमुख अतिथि अधिकारीले प्रहरी चौकीको नव निर्मित भवनबाट आम नागरिकले प्राप्त गर्ने प्रहरी सेवा सहजता र सर्वसुलभ वातावरणमा उपलब्ध हुने कुरा विश्वास दिलाए। उनले भने, “प्रहरी चौकीले नव निर्मित भवन प्राप्त गरेपछि, प्रहरी कर्मचारीहरूलाई थप भौतिक सुविधाले कार्यक्षेत्रमा अनुकुल वातावरण सिर्जना हुनेछ र नागरिकहरूलाई प्रहरी सेवा उपलब्ध गराउने कार्यमा थप जोश र ऊर्जा आउनेछ।”
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले भवन निर्माण कार्यको लागि नि:शुल्क जग्गा उपलब्ध गराउने जग्गा दाताहरूसँगै, भवन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई प्रशंसा पत्रले सम्मान गरेका थिए। यससँगै, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कृत गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोलले नव निर्मित भवनको निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै, दुहवी नगरपालिकाका प्रमुख बेद नारायण गच्छदार, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार राय, उपाध्यक्ष नितु कुमारी चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरीले पनि आ-आफ्नो मन्तव्य राखेका थिए।
नेपाल सरकारले नियमित बजेटबाट २ करोड ४१ लाख २३ हजार ९६० रुपियाँको लागतमा उक्त प्रहरी चौकीको भवन निर्माण कार्य सम्पन्न गरेको हो।










Discussion about this post