चिराैली । प्रजातन्त्र दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता, सामाजिक संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले प्रजातन्त्रको रक्षा र विकासका लागि सबैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले प्रजातन्त्रको मूल्य, मान्यता, सहिष्णुता र समावेशीतालाई सुदृढ बनाउन यस्तो कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गरे।
“प्रजातन्त्र जनताको अधिकार र स्वतन्त्रताको सुनिश्चितता हो। यसलाई सुदृढ बनाउन हामी सबै एकजुट हुनुपर्छ,” अध्यक्ष आजादले भने।
गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँवले प्रजातन्त्रलाई स्थायित्व दिन सामुदायिक स्तरमा सचेतना फैलाउनुपर्ने बताइन्। “प्रजातन्त्रको रक्षा हाम्रो जिम्मेवारी हो। हामी सबैले यसलाई बचाउन र सुदृढ बनाउन हातेमालो गर्नुपर्छ,” उपाध्यक्ष उराँवले भनिन्।
कार्यक्रममा उपस्थितहरुले दीप प्रज्वलन गर्दै प्रजातन्त्र र स्वतन्त्रताका लागि संघर्ष गर्ने वीर वीरांगनाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।










Discussion about this post