उदयपुर । उदयपुरको बेलका नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको दुई महिना बितिसकेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे पालिकामा उत्पन्न विवादका कारण कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेपछि कार्यालय छाड्न बाध्य भएका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुन १ गतेको निर्णयअनुसार उनलाई स्याङ्जा सरुवा गरे पनि उनको स्थानमा तोकिएका रामबहादुर केसी अहिलेसम्म नगरपालिकामा कार्यभार सम्हाल्न पुगेका छैनन्।
हाल नगरपालिकामा आठौँ तहका अधिकृत रविकिरण आचार्यले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। नगरपालिकाकी उपमेयर जिरा राईका अनुसार, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने खबर पाएको धेरै भइसकेको छ, तर अझै उपस्थित हुनुभएको छैन।’
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको भुक्तानी प्रक्रिया प्रभावित भएको छ। उपमेयर राईका अनुसार, आर्थिक कारोबार रोकिए पनि अन्य कार्य सञ्चालन भइरहेका छन्।
बेलका नगरपालिकामा रोजगार सहायक (सेवा करार) पदको नियुक्तिलाई लिएर विवाद उत्पन्न भएको थियो। सिफारिस भएका उम्मेदवारको स्थानमा अन्य व्यक्तिलाई हाजिर गराएको भन्दै स्थानीय राजनीतिक दलहरूले नगरपालिकाको प्रशासन शाखामा ताला लगाएका थिए। यही विवादका कारण घिमिरे कार्यसम्पादन गर्न असमर्थ भएका थिए।
अब नयाँ प्रमुख प्रशासकीय अधिकृत केसी कहिले कार्यभार सम्हाल्न पुग्छन् भन्ने अनिश्चित रहेको र प्रशासनिक प्रक्रियाहरू प्रभावित भइरहेका कारण स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको छ।










Discussion about this post