विराटनगर – कोशी प्रदेशसभामा गत माघ १३ गते पेस भएको ‘प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पर्याप्त छलफल बिना नै पारित भएको छ। विपक्षी सांसदहरूले दफावार छलफलमा चासो नदेखाउँदा विधेयक बिना संशोधन पारित भएको हो।
सत्तापक्षका चार सांसद— एमालेकी सचेतक कमला दर्नाल, सांसद रामदेव यादव, छविलाल चुँडाल र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले मात्र माघ १३ गते विधेयकमाथि सैद्धान्तिक छलफल गरेका थिए। तर, विपक्षी दलका सांसदहरू छलफलमा सहभागी भएनन्।
प्रदेशसभामा ९३ जना सांसद रहे पनि दफावार छलफलका लागि कोही पनि उपस्थित भएनन्। सभामुख अम्बरबहादुर विष्टले विधेयक संशोधनका लागि माघ १४ गते ७२ घण्टाको समय दिएका थिए, तर कुनै संशोधन प्रस्ताव दर्ता भएन। सोमबार (फागुन १२) बसेको प्रदेशसभा बैठकमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले विधेयक दफावार छलफलका लागि प्रस्ताव राखे। तर, छलफलमा कुनै सांसद सहभागी नभएको सभामुख विष्टले जानकारी दिए।
‘विधेयक माथिको दफावार छलफलमा भाग लिने माननीय सदस्यको नाम प्राप्त नभएको जानकारी गराउँछु,’ सभामुख विष्टले भने। त्यसपछि उनले विधेयक निर्णयार्थ पेस गरे र बहुमतले पारित गरियो।
प्रदेशसभामा विधेयकहरू पारित गर्ने प्रक्रियामा सांसदहरूको न्यून सहभागिताले प्रदेश सरकारको नीति निर्माण प्रक्रियाप्रति गम्भीर प्रश्न उठाएको छ।










Discussion about this post