काठमाडौं । सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनः अनुरोध गरेको छ।
नेपाली नागरिकहरू अनलाइन ठगी (स्क्यामिङ) जस्ता आपराधिक गतिविधिमा संलग्न हुन बाध्य बनिरहेको अवस्थामा, नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट दुई नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काएको छ। दूतावासका अनुसार सोमबार ती नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइने व्यवस्था मिलाइएको हो।
दूतावासले वैदेशिक रोजगारीको नाममा प्रलोभनमा नपरी सुरक्षित र कानुनी बाटो अवलम्बन गर्न पुनः अनुरोध गरेको छ। अवैधानिक तरिकाले गएका नेपालीहरू विभिन्न आपराधिक गिरोहको चंगुलमा पर्ने जोखिम रहेकाले सरकारले तोकेको प्रक्रिया पूरा गरेर मात्र वैदेशिक रोजगारीमा जान सम्बन्धित सबैलाई सचेत गराइएको छ।
हाल वैदेशिक रोजगारीका नाममा सामाजिक सञ्जाल र विभिन्न अनौपचारिक माध्यमबाट ठगीको क्रम बढ्दै गएकाले नेपाली दूतावासले यस्ता प्रलोभनमा नपर्न आग्रह गर्दै सुरक्षित रोजगारीका लागि आवश्यक जानकारी लिएर मात्र विदेश जान आग्रह गरेको छ।










Discussion about this post