नवलपरासी – नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा युवायुवतीको प्रेम सम्बन्धलाई लिएर उत्पन्न विवाद झडपमा परिणत हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाइ फायर तथा अश्रुग्यास प्रहार गर्नुपरेको छ। झडपमा प्रहरीसहित २१ जना घाइते भएका छन् भने उत्तेजित भीडले प्रहरीको गाडी जलाउनुका साथै एक गोदाम घरमा आगजनी गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १६ जना तथा ५ जना सर्वसाधारण घाइते भएका छन्। प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण थापाले सबै घाइतेको अवस्था सामान्य भए पनि एक जना सर्वसाधारण गम्भीर रहेको जानकारी दिए।
झडप कसरी भयो?
प्रहरीका अनुसार २० वर्षीय धोबी समुदायका युवक र १६ वर्षीया पवरिया (मुसलमान) समुदायकी किशोरीबीच प्रेम सम्बन्ध र भागी विवाहको घटनाका कारण दुई समुदायबीच तनाव उत्पन्न भएको थियो। दुबै पक्षका परिवार पाल्हीनन्दन गाउँपालिका–३ छोट्की कुस्मामा बसोबास गर्दै आएका छन्।
घटना सोमबार बेलुकी केटाका भाइ केटी पक्षका नातेदारको घर बेलासपुर पुगेपछि सुरु भएको थियो। सो क्रममा केटी पक्षका युवाले कुटपिट गर्दा उनी सामान्य घाइते भएका थिए। उक्त घटनापछि केटा पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। प्रहरीका अनुसार राति नै छलफल गराउन खोज्दा उजुरीदाताहरूले बिहान गर्ने सहमति गरेका थिए।
तर, मंगलबार बिहान छलफल हुनुअघि नै केटा पक्षका व्यक्तिहरू कुटपिटको कारण सोध्न केटी पक्षको घरमा पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो। एकाएक दुई पक्षबीच ढुंगामुढा सुरु भएपछि झडप उग्र बनेको थियो।
स्थिति नियन्त्रणका लागि प्रहरीले गर्यो हस्तक्षेप
झडपका क्रममा एक गाडीले ठक्कर दिँदा दुई जना घाइते भएपछि भिड झन् उग्र बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाइ फायर र ५ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
प्रहरीमाथि आक्रमण हुन थालेपछि थप बल प्रयोग गरिएको र अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ। हालसम्म उग्र प्रदर्शनमा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
स्थानीय प्रशासनले समुदायलाई संयमित रहन आग्रह गर्दै कुनै पनि उत्तेजित गतिविधि नगर्न अपिल गरेको छ। यस्तै, प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरी आवश्यक कारबाही गर्ने जनाएको छ।










Discussion about this post