दिपेन्द्र यादव/इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित उराँव टोलमा गएराति भएको आगलागीमा चार घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट प्रभावित परिवारलाई गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा तत्काल राहत वितरण गरिएको छ।
आगलागीबाट बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव र सबो उराँवको घर पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी, कोशी गाउँपालिका, इनरुवा नगरपालिका लगायतका दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।
घटनाको जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष आजाद, वडा अध्यक्ष सेराजुद्दिन अंसारी, स्वास्थ्य शाखा प्रमुख हिरा साह, शिक्षा शाखाका कृष्ण बिष्ट, कार्यपालिका सदस्य धर्मनाथ भगतसहितको टोली प्रभावित क्षेत्र पुगेर क्षतिको अवलोकन तथा राहत व्यवस्थापनमा जुटेका थिए। अध्यक्ष आजादले पीडित परिवारलाई खाद्यान्न सामग्रीसहित आवश्यक राहत प्रदान गरेका छन्।
अध्यक्ष आजादले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी थप क्षतिपूर्तिका लागि पहल गर्ने बताएका छन्। वडा अध्यक्ष अंसारीले प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउने तथा उनीहरूको पुनर्स्थापनाका लागि पहल गरिने जानकारी दिए।
स्वास्थ्य शाखा प्रमुख हिरा साहले प्रभावित परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने बताए। शिक्षा शाखा प्रमुख कृष्ण बिष्टले आगलागीका कारण विद्यार्थीको पढाइमा असर नपरोस् भन्ने उद्देश्यले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्थानीय प्रशासनका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार बिजुली सर्टका कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। यस घटनाले स्थानीय बासिन्दालाई सचेतना अपनाउन र विपद् व्यवस्थापनमा अझै प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post