दिपेन्द्र यादव/इनरुवा— मंगलबार बिहान सुनसरीको बर्जु गाउँपालिकाको कार्यालय, अमाहीवेल्हामा कार्यरत कर्मचारीहरू आक्रोशित देखिए। गाउँपालिकाका सबै कर्मचारीहरू गाउँपालिका अध्यक्षलाई भेट्न भेला भए। हातमा ज्ञापनपत्र थियो, अनुहारमा असुरक्षाको भाव।
कार्यालय परिसर तनावग्रस्त देखिन्थ्यो। गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख (इन्जिनियर) रोशन गुप्तामाथि कर्मचारी बैठककै क्रममा भएको अभद्र व्यवहारले सम्पूर्ण कर्मचारी आक्रोशित बनेका थिए। “हामी यहाँ कर्तव्य निर्वाह गर्न आएका हौँ, तर हाम्रै कार्यस्थल असुरक्षित बन्दै गइरहेको छ,” एक कर्मचारीले आक्रोश पोख्दै भने।
“मलाई चिन्छस म को हुँ?”— एक्कासि हलचल मच्चियो
फागुन २० गते बिहान १०:४५ बजे प्रशासन शाखामा कर्मचारी बैठक चलिरहेको थियो। माहोल सामान्य थियो। तर, एक्कासि बर्जु गाउँपालिका–६ निवासी श्रवण कुमार चौधरी बैठकस्थलमा प्रवेश गरे। आँखा रातो पार्दै उनले इन्जिनियर रोशन गुप्तालाई लक्षित गर्दै चिच्याए, “मलाई चिन्छस म को हुँ?”
सहकर्मीहरू अचम्मित भए। चौधरीको स्वर अझ उग्र बन्दै गयो। गालीगलौज सुरु भयो। उनले हात उठाउने स्थिति सिर्जना गरे। कुटपिट हुनै लागेको अवस्थामा केही कर्मचारीहरूले रोके। तर, त्यतिले मात्र उनको आक्रोश मत्थर भएन।
त्यसपछि उनी लेखा शाखामा गए। त्यहाँ लेखा प्रमुखलाई हप्की–दप्की गरे। कर्मचारीहरू त्रसित भए। कोही बोल्न सकेनन्, कोही आफ्नो कुर्सीमै जड भएझैँ बसे।
“हिजो पनि यस्तै भयो, आज त झन् हदै भयो!”
घटनाको भोलिपल्ट, फागुन १९ गते पनि चौधरीले कार्यालयमा उपस्थित कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत, विपद व्यवस्थापन शाखा प्रमुख, योजना शाखा प्रमुखलगायत सबैलाई अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेका थिए।
“हिजो पनि यस्तै भयो, आज त झन् हदै भयो! हामी कसरी सुरक्षित महसुस गर्ने?”—एक कर्मचारीले भन्छन्।
७२ घण्टाभित्र सुरक्षा सुनिश्चित नभए आन्दोलन
घटनाले कर्मचारीहरूको मनोबल गिरेको छ। “हामी सार्वजनिक सेवा प्रवाहको लागि यहाँ छौँ, तर यदि यस्तो अवस्थाबाट गुज्रिनुपर्छ भने काम गर्ने स्थिति रहँदैन,” उनीहरू भन्छन्।
यसै कारण, मंगलबार बर्जु गाउँपालिकाका सबै कर्मचारीहरूले गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमा लेखिएको छ,
“हामी राष्ट्रसेवक कर्मचारीमाथि भएको अमानवीय व्यवहारको घोर भर्त्सना गर्छौं। यदि दोषीमाथि तत्काल कडा कारबाही भएन भने र ७२ घण्टाभित्र सुरक्षा प्रत्याभूति नगरिएमा, हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौँ।”
ज्ञापनपत्रमा सबै कर्मचारीहरूको हस्ताक्षर छ। यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय, सुनसरी, उपाध्यक्ष, तथा सबै वडा अध्यक्षहरूलाई पनि पठाइएको छ।
अब के हुन्छ?
अब बर्जु गाउँपालिकाका कर्मचारीहरू प्रशासनको निर्णयको प्रतीक्षा गरिरहेका छन्। कार्यालयमा त्रासको माहोल छ। कर्मचारीहरू कार्यालय छोड्न चाहँदैनन्, तर असुरक्षित महसुस गरिरहेका छन्।
७२ घण्टाभित्र समाधान नआए के होला? आन्दोलनको लहर उठ्ने संकेत छ। बर्जु गाउँपालिकामा प्रशासनिक गतिविधि प्रभावित हुने सम्भावना देखिन्छ। अब निर्णयको जिम्मा गाउँपालिका नेतृत्वको हातमा छ।










Discussion about this post