इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं ४ मा अनलाइन प्रक्रियाद्वारा नागरिकता सिफारिस सेवा सुरु गरिएको छ। वडासचिव शोभानन्द साहका अनुसार प्रविधिमैत्री सेवा सञ्चालन गर्ने उद्देश्यका साथ यो प्रणाली लागू गरिएको हो।
वडाध्यक्ष हारूण अंसारीले यस व्यवस्थाले सेवाग्राहीलाई छिटो, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे। उनले भने, “नयाँ प्रविधिको प्रयोगले नागरिकलाई सहजता प्रदान गर्नेछ। अब अनलाइन प्रक्रियाबाट आवश्यक कागजात अपलोड गरी नागरिकता सिफारिसको निवेदन दिन सकिनेछ, जसले अनावश्यक झञ्झट हट्नेछ।”
यस प्रणालीले सेवाग्राहीलाई वडा कार्यालयमा बारम्बार धाउनुपर्ने झन्झट कम गर्नुका साथै सिफारिस प्रक्रिया थप व्यवस्थित हुने वडा सचिव साहले बताए। उनका अनुसार, “अब नागरिकता सिफारिसका लागि आवश्यक कागजातहरू अनलाइनमार्फत पेश गर्न सकिनेछ, जसले कागजात प्रमाणीकरण र सिफारिस प्रक्रियालाई छिटो बनाउनेछ।”
गाउँपालिकाले प्रविधिमैत्री सेवा विस्तार गर्दै लैजाने नीति अपनाएको र आगामी दिनमा अन्य सेवाहरू पनि डिजिटल प्रविधिमार्फत उपलब्ध गराउने तयारी भइरहेको बताइएको छ।










Discussion about this post