इनरुवा – सुनसरीको घुस्की नाकाबाट संगठित तस्करी धानिँदै आएको तथ्यहरू सार्वजनिक भइरहँदा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का निरीक्षक विकास थापामाथि पनि शंका उब्जिएको छ। समाचार स्रोतका अनुसार, घुस्कीस्थित सशस्त्र प्रहरी बल सीमा चौकी (बीओपी) दिनहुँ तस्करी भइरहेको देख्दा-देख्दै मौन बसेको छ, भने निरीक्षक थापाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका स्थानीय तहसँग इन्धन र गाडी मर्मतका लागि सहयोग मागेको आरोप लागेको छ।
बिओपी अगाडि तस्करीको ‘फिल्मी दृश्य’
स्थानीय बासिन्दाका अनुसार, घुस्की नाकामा तस्करहरूको चलखेल रातदिन चल्छ। सीमावर्ती क्षेत्रका पगडण्डी बाटाहरूमा भारतीय मालवाहक सवारी आउजाउ गर्छन्। प्रहरी चौकी नजिकैबाट नै अवैध सामानहरू ओसारपसार भइरहेको हुन्छ, तर सुरक्षा बल चुपचाप रहन्छ। “बीओपी अगाडि नै मोटरसाइकल, साइकल र ट्याक्टरहरूमा सामान ल्याएर भन्सार छल्ने काम भइरहेको छ। प्रहरीहरू हेर्छन्, तर कारबाही गर्दैनन्,” एक स्थानीय व्यवसायीले भने।
स्रोतका अनुसार, तस्करी नियन्त्रण गर्नुको साटो निरीक्षकले आफ्नो गाडी मर्मत तथा इन्धनको लागि अन्य स्थानीय तहमा हारगुहार गरेका छन्। “अनि कसरी सीमामा नियन्त्रण हुन्छ?” एक सरकारी अधिकारीले प्रश्न गरे।
प्रहरी निरीक्षकको चुप्पी र बिओपीको भूमिका
सशस्त्र प्रहरी निरीक्षक थापाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका स्थानीय तहसँग स्रोत-साधन जुटाउन खोज्नु कानुनी रूपमा गलत हो। “यदि उनीहरूलाई गाडी मर्मत र इन्धनकै अभाव छ भने पनि त्यसको व्यवस्थापन विभागीय रूपमा हुनुपर्छ, स्थानीय तहसँग होइन,” स्रोतले भन्यो।
तर, यस विषयमा सशस्त्र प्रहरी निरीक्षक भने मौन छन्। यसअघि पनि सीमावर्ती क्षेत्रका बिओपीहरूलाई तस्करहरूसँग मिलेमतो गरेको आरोप लाग्दै आएको छ। तर, यसपटक सिधै निरीक्षककै गतिविधि शंकास्पद देखिएको छ।
स्थानीय प्रशासन किन मौन?
तस्करी बढ्दै गएपछि स्थानीय प्रशासन र सुरक्षा निकायहरूमाथि दबाब बढेको छ। घुस्की नाकाबाट चिनी, मैदा, कपडा , रजनीगन्धा, गुट्खा, मोबाइल, कपडा, मदिरा, पेट्रोललगायत सामग्रीहरू दैनिक रूपमा ओसारपसार हुने गरेको छ।
तर, प्रशासनले कुनै ठोस कदम नचालेको स्थानीयहरू बताउँछन्। “यत्रो तस्करी हुँदा पनि प्रशासन किन चुप छ? प्रहरी किन कारबाही गर्दैन?” स्थानीय समाजसेवी रमेश यादव भन्छन्। यससम्बन्धी सशस्त्र प्रहरी निरिक्षक थापालाई पटकपटक फाेन सम्पर्क गर्न खाेज्दा माेवाइल नेटवर्क क्षेत्र भन्दा बाहिर रहेको कारण समाचार तयार गर्दा सम्म सम्पर्क भएको छैन् ।
के तस्करी नियन्त्रण हुन्छ?
घुस्की नाकाबाटको तस्करी रोक्न यदि प्रशासन गम्भीर भएमा नियमित गस्ती, तस्करी विरुद्ध कडा कारबाही, र सुरक्षाकर्मीको अनुगमन आवश्यक छ। नत्र, यस्तै लापरबाहीका कारण सीमावर्ती क्षेत्र तस्करहरूको ‘सेफ जोन’ बन्नेछ।










Discussion about this post