इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा ‘उज्ज्वल सुनसरी’को आयोजनामा भव्य अभिनन्दन तथा सम्मान समारोह सम्पन्न भएको छ। उक्त अवसरमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई विशेष अभिनन्दन प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि डा. यादवले लोकतान्त्रिक व्यवस्था सुदृढ गर्न, पर्यावरणीय सन्तुलन कायम राख्न तथा चुरे क्षेत्रको संरक्षण अत्यावश्यक रहेको धारणा व्यक्त गरेका छन् । उनले मुलुकको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरण कुनै एक व्यक्तिको प्रयासमा मात्र सम्भव नहुने उल्लेख गर्दै प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न सबै पक्षको समान योगदान अपरिहार्य रहेको बताए ।
समारोहमा समाजसेवा, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक उत्थान तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका ४० जना अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। इनरुवा–१ निवासी दिवंगत समाजसेवी विश्वरमण पोखरेल (नानी बाबु), चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दिवंगत डा. सोमन्तराज बस्नेतका परिवारलाई सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। प्राकृतिक कृषि तथा जैविक जीवनशैलीको प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका रामधुनीका केदार पोखरेललाई समेत कदर गरिएको थियो।
यसैगरी, जिल्ला विकास समितिको स्थापनाका लागि योगदान दिएका दिवंगत सभापति यादव, श्यामलाल मिश्र, गोसाई दास, रामजी दास महतो, श्रीप्रसाद भण्डारी, सखी महमद, डा. जितनप्रसाद मेहता, डा. केशरीराज कोइरालालगायत अग्रज व्यक्तित्वलाई सम्मानित गरिएको थियो। इनरुवा जिल्ला अस्पतालका लागि जग्गा दान गर्ने गोपाल कोइरालालाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी, समाज सेवामा महत्वपूर्ण योगदान पु¥याएका दिवंगत मोहनलाल राठी, रतिलाल पौदार, मानकी पण्डित, पं. टंकनाथ दुगना, शेखरनाथ निरौला, रघुनन्दन महतो, दिलबहादुर श्रेष्ठका परिवारलाई पनि उच्च सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानअन्तर्गत सिताराम पौदार तथा युवा व्यवसायी वीरेन्द्र कुमार साहलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। उज्ज्वल सुनसरीका अध्यक्ष केदारप्रसाद पोखरेलले समाजलाई अन्धकारबाट उज्यालोतर्फ अग्रसर गराउने अभियानअन्तर्गत विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई सम्मान गरिएको बताए ।
इनरुवाको सत्यनारायण मन्दिर सेवा संघमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व गृहमन्त्री विजयकुमार गच्छदार, केन्द्रीय सदस्य राजीव कोइराला, नेता सिताराम मेहता, जनता समाजवादी पार्टीका नेता दिलीपचन साहु, नेकपा (एमाले)का नेता पोष्टकुमार नेपाल, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहतालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. रामवरण यादवले विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै समाज रूपान्तरणका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएकाे थियोे । उज्ज्वल सुनसरीका अध्यक्ष शिवनारायण पण्डितको अध्यक्षता तथा पूर्व राष्ट्रपति यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।










Discussion about this post