इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ स्थित सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। समूहको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै वार्षिक समिक्षा गरिएको थियो।
साधारणसभाको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेका थिए । उनले सामुदायिक वन संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगका लागि स्थानीय तह, उपभोक्ता समूह र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरे। वन क्षेत्रको दीर्घकालीन संरक्षण तथा हरियाली प्रवद्र्धन गर्न सामुदायिक सहभागिता अनिवार्य रहेको बताउँदै मन्त्री मण्डलले प्रदेश सरकारले वन संरक्षण तथा वातावरणीय सन्तुलनलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारेका छन्।
कार्यक्रमका विशिष्ट अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले सामुदायिक वनले स्थानीय वातावरणीय संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरेका छन्। उनले वन संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक नीतिगत तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। वनको दिगो व्यवस्थापनका लागि सामुदायिक वन उपभोक्ता समूहहरू सशक्त हुनुपर्नेमा उनले जोड दिए ।
साधारणसभामा समूहका सचिव उमेश कुमार मेहताले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्दै समूहको प्रगति, चुनौती तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा विभिन्न वक्ताहरूले वन संरक्षण, जैविक विविधताको प्रवद्र्धन, जल स्रोत तथा वातावरणीय सन्तुलन कायम राख्ने विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।
साधारणसभामा गाउँपालिका पदाधिकारी, वडास्तरीय जनप्रतिनिधि, स्थानीय वन उपभोक्ता समूहका प्रतिनिधि, वातावरणविद्, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।










Discussion about this post