दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाको प्राङ्गण रङ्गीन बनेको थियो। फागु पूर्णिमाको अवसर पारेर आयोजना गरिएको होली मिलन तथा शुभकामना कार्यक्रम उत्साह र उमंगले भरिएको थियो।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद स्वयं सहभागी भएर रंगको पर्वलाई थप रङ्गीन बनाएका थिए।
कार्यक्रमको प्रारम्भ गाउँपालिकाका पदाधिकारी तथा उपस्थित अतिथिहरूको स्वागतबाट भएको थियो। उपस्थित सबैले एकअर्कालाई रङ्ग लगाउँदै पर्वको शुभकामना साटासाट गरे। होलीको उमंगमय वातावरणमा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमलाई अझ विशेष बनाउन सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो। होली गीतमा थिरकिरहेका उपस्थित सहभागीहरूले माहोललाई झनै रमाइलो बनाए। यस्तै, विशेष नृत्य प्रस्तुत गर्ने स्वास्थ्य चौकी इन्चार्ज रामाशंकर शाहलाई अध्यक्ष आजादले पुरस्कार प्रदान गर्दै हौसला बढाए। कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी प्रमुख हिरा शाहले गरेका थिए, जसले आफ्ना मनमोहक शब्दहरूले सम्पूर्ण माहोललाई रोचक बनाएका थिए।
रङ्ग, उमंग र सद्भावको सन्देश बोकेको यो विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो। उपस्थित सबैको मुहारमा खुसी झल्किरहेको थियो, जसले गाउँपालिकाको एकताको सन्देशलाई थप बलियो बनाएको थियो।










Discussion about this post