दिपेन्द्र यादव / सुनसरी । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल-फित्र को अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष आजादले एक सन्देश जारी गर्दै ईद उल-फित्र पर्वले आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकतालाई मजबुत बनाउने उल्लेख गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
“ईद उल-फित्र मुस्लिम समुदायको महत्वपूर्ण पर्व हो, जसले आपसी रिस, राग र द्वेषलाई बिर्साउँदै भाईचारा, सहिष्णुता र मेलमिलापको सन्देश दिन्छ। यस अवसरमा विशेष नमाज अदा गरी ठूलाबडाबाट आशीर्वाद लिने, सानालाई माया दिने तथा मिष्टान्न परिकार बाँड्दै खुशी साटासाट गर्ने परम्परा रहिआएको छ,” अध्यक्ष आजादले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
उनले यस पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति तथा परम्पराको संरक्षण, सम्वर्द्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, सामाजिक तथा सांस्कृतिक विविधताबीचको सहअस्तित्वले नै नेपाली समाजलाई अझ सुदृढ बनाउने उल्लेख गर्दै नेपाली राष्ट्रियतालाई बलियो बनाउन यस पर्वले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन्।
अध्यक्ष आजादले ईद उल-फित्रले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति तथा भाइचाराको भावना प्रवर्द्धन गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्।
“यस महान् पर्वले हामी सबैलाई मेलमिलाप, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्,” अध्यक्ष आजादको शुभकामना सन्देशमा उल्लेख छ।










Discussion about this post