सुनसरी– संघीय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौंमा जारी अनिश्चितकालीन आन्दोलनमा सहभागी भएका शिक्षक तथा कर्मचारीहरूप्रति भोक्राहा नरसिंह गाउँपालिकाले ऐक्यबद्धता जनाउँदै आवश्यक सहजीकरणको लागि शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गर्दै आन्दोलनको कारण विद्यालयका नियमित शैक्षिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै शिक्षकहरूको जायज माग सम्बोधन गर्न आग्रह गरेका छन्।
उनले पत्रमा भनेका छन्, “संघीय शिक्षा ऐन हालसम्म जारी नभएको र शिक्षकहरूको मागहरू सम्बोधन नभएको भन्दै आन्दोलन सुरु भएको हो। यसले भर्ना अभियान लगायतका महत्वपूर्ण कार्यक्रम प्रभावित भएका छन्। शिक्षक तथा कर्मचारीहरूको उच्च मनोबलका साथ पुनः कार्यमा फर्कने वातावरण निर्माणका लागि यथोचित माग सम्बोधन गरिनु आवश्यक छ।”
मिति २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रितरूपमा आन्दोलनमा उत्रेका शिक्षकहरूले संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, पेशागत हकहित सुनिश्चित गरिनुपर्ने लगायतका माग राख्दै आएका छन्।
गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सहभागिताले विद्यालय तहका कार्यक्रमहरू प्रभावित हुन थालेपछि गाउँपालिकाले आधिकारिक रूपमा मन्त्रालयमा पत्राचार गर्दै सहजीकरणको पहल थालेको हो।
स्थानीय सरकारका हैसियतले शिक्षा प्रणाली सुदृढ बनाउने कार्यमा निरन्तर लागिरहेको जनाउँदै अध्यक्ष आजादले शिक्षकमैत्री नीति निर्माणका लागि संघीय सरकारलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।










Discussion about this post