सुनसरी – सुनसरीको पश्चिम कुशाहा स्थित अकुवा वर्ड रिसोर्टमा नियमित खोप कार्यक्रम तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी दुईदिने समीक्षा तथा सूक्ष्म योजना अद्यावधिक गोष्ठी सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय सुनसरीको प्राविधिक सहयोगमा वैशाख ३ र ४ गते आयोजना गरिएको उक्त गोष्ठी स्वास्थ्य सेवा प्रभावकारिता वृद्धिमा लक्षित रहेको आयोजकले जनाएका छन्।
गोष्ठीको उद्घाटन भोकाहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले गरेका थिए भने अध्यक्षता स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले गरेका थिए। कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हिरालाल साह विशेष अतिथि थिए।
स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत कन्हैया साह, कोल्ड चेन निरीक्षक अमोल नारायण चौधरी, स्वास्थ्यकर्मी प्रदीप यादव, कार्यक्रम सञ्चालिका राधिका दाहाल, विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गोष्ठीमा नियमित खोप सेवा प्रवाहमा देखा परेका समस्या, चुनौती, अवसर र सुधार सम्भावनाबारे समिक्षा गरिनुका साथै आगामी योजनाहरू अद्यावधिक गरिएको थियो। सहभागीहरूबीच अन्तरक्रियात्मक छलफलमार्फत स्थानीय सन्दर्भमा उपयुक्त रणनीति तय गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष आजादले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गाउँपालिकाले आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी र जनमुखी सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताए। उनले भने, “हाम्रो पालिकाको पहिलो प्राथमिकता नै स्वास्थ्य हो। आधारभूत स्वास्थ्य सेवा सबै जनतासम्म पुगोस् भनेर हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौं।”
गोष्ठीको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।










Discussion about this post