इनरुवा । सुनसरीको दुहबीमा शनिबार बिहान एउटा सवारी साधनको पिछा गर्ने क्रममा प्रहरीलाई देखिएको दृश्य कुनै सस्पेन्स थ्रिलरभन्दा कम थिएन।
गोप्य सूचनाको भरमा खटिएको प्रहरी टोलीले कार नियन्त्रणमा लिँदा कार चालक भने सिनेमा शैलीमा जङ्गलतर्फ फरार भए।
बा.७.च.९२६३ नम्बरको मारुती सुजुकी कार दुहबीबाट मोरङ बुढीगंगातर्फ गइरहेको थियो। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले मिति २०८२ वैशाख ६ गते बिहान करिब ८:३० बजे दुहबी नगरपालिका–४ मालहट्टीस्थित सडकमा उक्त कारलाई रोकेर चेकजाँच गर्दा कार चालक फरार भइसकेका थिए। सवारीको डिक्की खोलेर जाँच गर्दा त्यहाँ ४ वटा जेब्रा झोलामा प्याक गरी राखिएको ११६ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा डिक्कीभित्र लुकाएर राखिएको शैलीले प्रहरीले घटनालाई सामान्य कारवाहीमा सीमित नराखी गहिरो अनुसन्धान थालेको संकेत दिएको छ। प्रहरी स्रोतका अनुसार झोलाहरू व्यवस्थित र योजनाबद्ध तरिकाले प्याक गरिएका थिए, जुन पेशेवर तस्करको शैली देखिन्छ।
यता सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाले प्रदेश प्वाइन्टसँग विशेष कुराकानी गर्दै भने, “११६ केजी गाँजा कुनै संयोगले बोकेको होइन, यो योजनाबद्ध तस्करी हो। फरार चालकको पछाडि ठूलो गिरोहको संलग्नता देखिन्छ। यो दुहबी-बुढीगंगा मार्ग अब लागू औषध तस्करीको केन्द्र बन्ने खतरा देखिएको छ। हाम्रो टोली सो गिरोहको पहिचान र समात्नतर्फ अग्रसर छ।”
उनका अनुसार चालकबारे केहि महत्वपूर्ण संकेतहरू प्रहरीले पत्ता लगाइसकेको छ। सिसीटिभी फुटेज, मोबाइल ट्र्याकिङ, र सूचना संकलनका आधारमा खोजी तीव्र पारिएको उनले जानकारी दिए।
भारतको सीमावर्ती क्षेत्रमा पर्ने दुहबीको भौगोलिक अवस्थिति लागू औषध तस्करीका लागि उपयुक्त ट्रान्जिट बिन्दु बन्दै गएको देखिएको छ। पछिल्लो समय प्रहरीले विभिन्न कारवाहीहरूमा ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, नाइट्राभेट, र अन्य नशालु पदार्थ बरामद गरेको छ।
गाँजाको यस्तो ठूलो परिमाण सवारीमा बोकी खुल्ला सडक हुँदै ओसारपसार हुनु आफैँमा गम्भीर सवाल हो। सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउने यस्ता घटनाले समाजमा अपराधीकरण र युवामाझ नशाको पहुँच बढाउने खतरा पनि निम्त्याइरहेको छ। स्थानीय तह, नागरिक समाज र प्रहरी प्रशासनबीच समन्वयात्मक प्रयास नहुँदा समस्या अझ जटिल बन्ने संकेत देखा परेको छ।










Discussion about this post