देवानगञ्ज। बिराटनगरबाट देवानगञ्जतर्फ जाँदै गरेको एक अटोबाट सशस्त्र प्रहरीले १० केजी गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी अन्तर्गत बीओपी साहेबगञ्जबाट खटिएको टोलीले आज आइतबार दिउँसो ३:३० बजेतिर सुनसरीको देवानगञ्ज गाउँपालिका–६ जिरोग्वा भन्ने स्थानमा उक्त गाँजा बरामद गरेको हो।
को २ ह ५४७१ नम्बरको अटोमा कालो झोलामा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले जानकारी दिए। उनका अनुसार शङ्कास्पद देखिएपछि सशस्त्र प्रहरी निरीक्षक महेन्द्र भुजेलको कमाण्डमा खटिएको दुई सदस्यीय मोटरसाइकल गस्ती टोलीले उक्त अटो जाँच गर्दा गाँजा भेटिएको हो।
गाँजा ओसारपसारमा संलग्न रहेकामा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका–५ का ३६ वर्षीय शेखर बास्तोला (अटो चालक) र दुहबी नगरपालिका–२ की ५० वर्षीया निर्मला चौधरी सरदार रहेको एसपी थापाले बताए।
गाँजा, अटो तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि सोही आज साँझ ६:४० बजे इलाका प्रहरी कार्यालय देवानगञ्जमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
एसपी थापा भन्छन्, “सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानीलाई तीव्र बनाएको छ। यस्ता अवैध कार्यमा संलग्न जो–कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याइनेछ।”










Discussion about this post