इनरुवा । भारत–नेपाल सीमावर्ती जिल्लाबीच शान्ति सुरक्षा र आपसी समन्वय सुदृढ गर्न उद्देश्यसहित आज सुपौल जिल्लाको विरपुरस्थित कौशिकी भवनमा जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ।
भारतको सुपौल जिल्लाका जिल्ला अधिकारी (डीएम) कौशल कुमारको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेपालतर्फबाट सप्तरी र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकाय प्रमुखहरू तथा अन्य सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो। सप्तरीबाट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा सहभागी हुनु भएको थियो।
बैठकमा सीमावर्ती क्षेत्रका आपराधिक गतिविधिहरू नियन्त्रण, सीमा क्षेत्रमा हुने अबैध ओसारपोसार रोकथाम, फरार अभियुक्तहरू तथा लुकिछिपि रहेका व्यक्तिहरूको निगरानी र नियन्त्रण, शान्ति सुरक्षा सुदृढीकरण, सूचनाको आदानप्रदान, र सीमा क्षेत्रको समग्र विकास निर्माणलगायतका विषयमा गहन छलफल तथा विश्लेषण गरिएको थियो।
बैठकमा सीमावर्ती जिल्लाबीच सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनमा यस्ता बैठकलाई निरन्तरता दिने निर्णय गरिएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच तत्काल सूचना साझा गर्ने, आवश्यक सहयोग र समन्वयका लागि सम्पर्क बिन्दु निर्धारण गर्ने तथा आकस्मिक अवस्थामा द्रुत संवाद प्रक्रिया सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
सीमा सुरक्षासम्बन्धी चुनौतीलाई समन्वयका माध्यमबाट व्यवस्थापन गर्न यस्तो बैठक फलदायी हुने सहभागी अधिकारीहरूको विश्वास छ। बैठक समापनसँगै भारत–नेपाल बीचको आपसी समन्वय र समझदारी थप सुदृढ हुने अपेक्षा गरिएको छ।










Discussion about this post