इनरुवा – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४, चिराैली चौकमा सम्पन्न प्रदेशस्तरीय नकआउट कबड्डी प्रतियोगिता–२०८२ को उपाधि विराटनगर महानगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा विराटनगरले इनरुवा नगरपालिकालाई २७–२३ को रोमाञ्चक अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।
विजेता विराटनगरले ६० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता इनरुवाले ४० हजार नगदसहित शिल्ड र प्रमाणपत्रमा चित्त बुझायो।
भोजपुरदेखि सुनसरीसम्मका विभिन्न १० टिम सहभागी रहेको प्रतियोगिता गत जेष्ठ ९ गतेदेखि सुरु भएको हो। फाइनलमा इनरुवा र विराटनगरबीचको भिडन्त निकै प्रतिस्पर्धात्मक रह्यो।
समापन समारोहमा प्रमुख अतिथि तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्थानीय तहबाट खेलकुद प्रवर्द्धन हुँदै गएकोमा खुसी व्यक्त गर्दै भने, “खेलकुदले अनुशासन, एकता र स्वास्थ समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ। युवालाई कुलतबाट टाढा राख्न खेलले मार्गदर्शन गर्छ।”
अध्यक्ष आजादले स्थानीय युवालाई लक्षित गर्दै प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्नु नै गाउँपालिकाको दूरदृष्टि भएको उल्लेख गरे। “खेलकुदले गाउँपालिकाको पहिचान मात्रै होइन, सम्भावनाको पनि ढोका खोल्छ,” उहाँले भन्नुभयो।
समारोहमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, सजिलो कृषि सहकारी संस्थाका अध्यक्ष जमालुद्दीन मन्सुरी, वडा नं. ४ का अध्यक्ष हारुन अन्सारी, वडा नं. ५ का अध्यक्ष हबिब मन्सुरी, वडा नं. ६ का अध्यक्ष स्राजुद्दिन अन्सारीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताले खेलाडीहरूको क्षमता उजागर गर्नुका साथै प्रदेशस्तरीय समन्वयमा टेवा पुर्याएको आयोजकको भनाइ छ।











Discussion about this post