धरान — यो समाचार सुन्दा जो–कोहीको मुटु चिसिन्छ, आँखा रसाउँछ ।
१८ वर्षीया एक किशोरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएकी छन्, तर बच्चाको बाबु को ? कसले उनको शरीर र आत्मामाथि बलात्कार गर्यो ? अहिलेसम्म अज्ञात छ ।
किशोरी (नाम परिवर्तन: रिमा) को पीडाको सुरुवात त्यहीँबाट भएको हो, जहाँ उनले जिउनका लागि काम गरिरहेकी थिइन् — कपडा पसलमा । त्यहीँ वरिपरि किराना पसलमा काम गर्ने एक युवकले पेट बोकाएर फरार भयो, उसले नाम दिएन, फोटो दिएन, भविष्य दिएन ।
रिमा इटहरीमा भेटिइन् — एक्कासि पेट दुखेर, अनुहार थकित, आँखा भिजेका, हरेक प्रश्नबाट डराएर । उनलाई महिला सहयोगी संस्था इटहरीले उद्धार गर्यो । संस्थाकी अध्यक्ष विमला ठकुरी मल्ल भन्छिन्, “दुई दिनअघि मात्र सहारा माग्दै आएकी थिइन्, उनले ८ महिनाको गर्भ बोकेकी थिइन् ।”
उद्धारलगत्तै उनलाई सुरक्षित आवासमा राख्ने प्रयास गरियो, तर व्यथाले त्यसको मोहलत दिएन । केही घण्टामै उनको प्रसूति व्यथा सुरु भयो । उनलाई रातारात इटहरीको परिवार नियोजन केन्द्र, त्यसपछि कोशी अस्पताल हुँदै धरान वीपी प्रतिष्ठान लगियो, जहाँ उनले बच्चा जन्माइन् — पीडामाथि अर्को पीडाको साक्षी राख्दै ।
सबैभन्दा दुखद त के छ भने, ती किशोरीको गर्भ त थियो, तर भरोसा दिने कोही थिएन । उनले फोटो देखाएनन्, नाम बताइन् तर पत्ता लागेन ।
संस्थाले घटना जिल्ला प्रशासन, उपमहानगरपालिकाको उपमेयर सचिवालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको छ । अब प्रश्न उठेको छ — के बच्चाको बाबुको पहिचान हुनेछ ? के दोषी उम्कन्छ ?
महिला सहयोगी संस्थाले लामो समयदेखि यौन व्यवसायमा जबर्जस्ती लागेका, हिंसा सहन बाध्य महिलाहरूको उद्धार गर्दै आएको छ । उनीहरू होटल, रेस्टुरेन्ट, क्याबिनका अँध्यारा कुनामा पुगेर उज्यालो फर्काउने कोशिस गर्दै छन् ।
रिमाको कथा एउटी किशोरीको मात्र होइन, यो समाजको चिर्को ऐना हो — जहाँ पीडित बोल्न डराउँछ, र दोषी हराएर रमाउँछ ।
अब पनि यदि हामी चुप बस्यौं भने, भोलिका दिनमा यस्ता हजारौं रिमा फेरि चिच्याएर पनि नसुनिने अँध्यारोमा हराउने छन् ।
समाज, तिमी कहाँ छौं ?










Discussion about this post