सप्तरी — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले चलाएको गोलीबाट स्थानीय लालु यादवको मृत्यु भएको घटनाले गाउँ शोकमग्न बनेको छ। घटनापछि स्थानीय राजनीतिक प्रतिनिधिहरूको अगुवाइमा गठन गरिएको संघर्ष समितिले दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष चार बुँदे ज्ञापनपत्र बुझाएको छ।
नेपाली कांग्रेसका स्थानीय नेता दिपेन्द्र यादवको संयोजकत्वमा बनेको २५ सदस्यीय संघर्ष समितिले घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै तत्काल कडा छानबिनको माग गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको ज्ञापनपत्रमा, गोली चलाउने प्रहरी निरीक्षकलाई निलम्बन गर्दै कर्तव्य ज्यान मुद्दा दर्ता गर्नुपर्ने, जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीमाथि तत्काल विभागीय कारबाही गरिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग गरिएको छ।
त्यसैगरी मृतक यादवलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र सीमा क्षेत्रमा पुनःयस्ता घटना नदोहोरिओस् भनेर नियमित प्रशासनिक निगरानी गर्नुपर्ने मागसमेत राखिएको छ।
“२४ घण्टाभित्र माग पुरा नभए कडा आन्दोलनमा जानेछौँ,” संघर्ष समितिका संयोजक दिपेन्द्र यादवले चेतावनी दिनुभयो।
प्रहरीका अनुसार उक्त घटना मङ्गलबार राति मदिरा नियन्त्रणको सिलसिलामा स्थानीयले अवरोध गर्दा भएको भिडन्तमा गोली चलाउनुपरेको थियो। तर, मृतक परिवारको दाबी छ — लालु यादवलाई नियन्त्रणमा लिएर नियोजित रूपमा गोली प्रहार गरिएको हो।
यस्तो घटनाले स्थानीय जनमानसमा आक्रोश छरेको छ, तर सुरक्षा संयन्त्रप्रति समेत प्रश्न खडा गरेको छ। मृतकप्रति श्रद्धाञ्जलि र परिवारप्रति समवेदना व्यक्त गर्दै स्थानीयहरू न्यायको आशामा संघर्षरत छन्।










Discussion about this post