काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छन् । नेपाल प्रहरीले बिहीबार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायाधीश मल्लले भीभीआईपी र भिआई पीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी हुन् ।
महिलाहरू सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापालाई आग्रह गरिन् । उनले नेपाल प्रहरीमा महिलाहरूको सहभागिता हुन लामो समय लागेको पनि बताइन् । समाज महिलाहरू कमजोर हुन्छन् भन्ने मानसिकताबाट ग्रसित हुँदा प्रहरीको संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट महिला बहिष्कृत भएको उनको भनाई छ ।
उनले भनिन्, ‘प्रहरी भन्नासाथै शान्ति सुरक्षा दिने, अझ न्याय पालिकाको सदस्य पनि हो तपाई, न्यायको पहिलो ढोका पनि हो तपाई । कुनै पनि आपराधिक घटनामा न्याय दिलाउने तपाईँहरू द्वार पनि हो । तर महिलाहरू यो द्वारबाट, यो संस्थाबाट, संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट बहिष्कृत थिए । बहिष्कृत यस अर्थमा थिए की किनभने त्यहाँ एउटा गहिरो जरो गाडिएका यस्तो सोचहरू थिए जुन चाहिँ लैङ्गिक लघुताभासमा आधारित थिए । के सोचिन्थ्यो भन्दाखेरि सुरक्षामा, सेनामा, कानुन कार्यान्वयन गर्ने निकायमा, अथवा न्यायका सिक्रीहरूमा महिलाहरू सक्दैनन् । महिलाहरू सक्षम छैनन् । महिलाहरूले गर्न सक्दैनन् । अझ झन् प्रहरी र सुरक्षा फौजको कुरा आउँछ, महिलाको त बलै छैन ।’
उनले थपिन्, ‘अनि यो व्यक्तिगत क्षमतालाई नहेरी लिङ्गका आधारमा सामूहिक रूपमा चाहिँ सक्दैनन् भन्ने अनुमानबाट हामीहरू अगाडी बढेका थियौँ । अनुमानको कुरा पनि कस्तो थियो भने शारीरिक रूपमा पनि असक्षम, भावनात्मक रूपमा पनि धेरै कमजोर हुन्छ भन्ने सोच । अनि प्रश्न मलाई गर्न म लाग्छ, परिवर्तन त धेरै भएको छ । परिवर्तन त धेरै भएको छ तर पूर्ण भएको छैन । के साँच्चै महिला शारीरिक रूपमा कमजोर हुन्छन् ? म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अव यदि महिलाले सुरक्षा लिने वर्ग होइन दिने वर्ग पनि हो भने भीभीआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्, तपाईँहरू उदाहरण बनिदिनुस् ।’
उनले पछिल्लो समय महिलाहरू धेरै क्षेत्रमा अगाडी बढिरहेको बताइन् । शून्यबाट १२ प्रतिशतसम्म महिलाको सहभागिता प्रहरी र न्याय क्षेत्रमा पुगेको उनको भनाई छ ।










Discussion about this post