इनरुवा — सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने प्रयाससँगै जेन–जी पुस्तामा तीव्र आक्रोश पैदा भएको छ। सूचिकृत हुन अस्वीकार गरेको आरोपमा सरकारद्वारा केही लोकप्रिय सामाजिक सञ्जाल बन्द गरिएपछि प्राविधिक युगमा हुर्केको यो पुस्ता प्रतिवादमा उत्रिएको छ।
१२ देखि २८ वर्ष उमेर समूहका युवायुवतीहरु — जसले इन्टरनेटमै आफ्नो पढाइ, काम, करिअर र सिर्जना जोडिरहेका छन् — उनीहरु अब सडकमा सरकारको निर्णयविरुद्ध उत्रिन तम्तयार छन्। सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप उनीहरुको मुख्य आवाज बनेको छ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो। यहाँ अभिव्यक्ति स्वतन्त्रता, ई–गभर्नेन्स र डिजिटल स्वतन्त्रता लोकतान्त्रिक मूल्यका अंग हुन्। तर, सरकार ती मूल्यहरु उलङ्घन गर्दै, टिकटकदेखि फेसबुकसम्ममा अंकुश लगाउने बाटोमा हिँडिरहेको देखिएको छ।
विश्व एआई प्रविधिको युगमा अघि बढिरहेको बेला, च्याटजीपीटी, कपिलट, डल–ईजस्ता टुल्ससँग घुलमिल भइसकेको पुस्तालाई इन्टरनेट बन्द गरेर पछाडि धकेल्ने प्रयास उनीहरुले स्वीकार गरेका छैनन्।
सरकारले जेन–जी पुस्ताको भावना बुझ्न नसके अब यो पुस्ताले सरकारलाई बुझ्ने कुनै कारण देख्दैन। प्रविधिमैत्री जीवनशैलीमाथि हस्तक्षेप अब राजनीतिक आन्दोलको रुप लिन सक्ने संकेत देखिन थालेको छ।
सामाजिक सञ्जाल बन्द गरेर सरकार नागरिकलाई अध्यारोमा राख्न खोज्दैछ भने, जेन–जी पुस्ता त्यसको उज्यालो प्रतिकार गर्न तयार हुँदैछ।










Discussion about this post