काठमाडौं — भ्रष्टाचारविरुद्ध ‘जेन–जी’ पुस्ताले राजधानीको नयाँ बानेश्वरमा गरेको प्रदर्शन रक्तपातमा परिणत भएको छ। सोमबार दिनभर चलेको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा पाँच जनाले ज्यान गुमाएका छन्
अस्पताल स्रोतका अनुसार ट्रमा सेन्टरमा तीन, सिभिल अस्पतालमा एक र काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा एक गरी पाँच प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ। सबै मृतकलाई रबरको गोली लागेको र गम्भीर घाइते अवस्थामै उपचारका क्रममा ज्यान गएको बताइएको छ। सयौं घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक छ।
सोमबार बिहान ९ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसो निषेधित क्षेत्रतर्फ अघि बढ्ने प्रयाससँगै हिंसात्मक बनेको हो। सुरुवाती चरणमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो। तर स्थितिलाई नियन्त्रणमा लिन नसक्दा अन्ततः गोली चलाएको थियो।
स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिउँसो साढे १२ बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। तर, कर्फ्यूको अवहेलना गर्दै नयाँ बानेश्वरमा प्रदर्शन निरन्तर जारी रह्यो।
ट्रमा सेन्टर र सिभिल अस्पताल घाइतेहरूले भरिभराउ छन्। उपचाररतहरूको यकिन संख्या सार्वजनिक भइसकेको छैन। अस्पतालका आपत्कालीन कक्षहरूमा भीड बढ्दा चिकित्सकहरूलाई समेत दबाब परेको छ।










Discussion about this post