सुनसरी — हालसालै उग्र बनेको जेनजी आन्दोलनले सुनसरी जिल्लाभित्र गम्भीर क्षति पुर्याएको छ। विशेषगरी भाेक्राहा नरसिंह गाउँपालिका र यसका विभिन्न वडा कार्यालयहरू आन्दोलनकारीहरूको मुख्य लक्ष्य बनेकाे थियोे । तोडफोड र आगजनीका कारण करोडौँ मूल्य बराबरका सरकारी सम्पत्ति र अभिलेख पूर्ण रूपमा नष्ट भएका छन्।
भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयमा भएको क्षति करिव प्रशासनीक भवन बाहेक ३ करोड भन्दा बढी रकमको छ। कार्यालय परिसरमा रहेको बलोरो गाडी १ थान र मोटरसाइकल २ थान पूर्ण रूपमा जलेर खरानी भएका छन्। यस्तै, कम्प्युटर, ल्यापटप, प्रिन्टर, दराज, किसानहरूको लागि वितरण गर्न राखिएको विद्युतीय माेटर सेट, एयर कन्डिसन (AC) लगायतका इलेक्ट्रोनिक उपकरण जलाइएका छन्। सबैभन्दा पीडादायक क्षति भने कार्यालयमा संकलित महत्त्वपूर्ण कागजातहरू हो, जसमा जन्म–मृत्यु दर्तादेखि जग्गाधनी प्रमाणपत्रसम्म समावेश थिए।
गाउँपालिकाभित्रका वडा कार्यालयहरू पनि आन्दोलनकारीको आक्रमणबाट जोगिन सकेनन्। वडा नम्बर ६ मा रहेको १ थान मोटरसाइकल जलेर पुर्ण रूपमा नष्ट गरिएको छ । त्यस्तै, कम्प्युटर, प्रिन्टर, कुर्सी, टेबल र अभिलेख जलेर खरानी भए। वडा नम्बर ७ मा पनि उस्तै क्षति भयो, जहाँ १ थान मोटरसाइकल, इन्भर्टर, ब्याट्री, विद्युतीय सामग्री र फर्निचर सबै जलाइएका थिए।
त्यसैगरी वडा नम्बर २, ३ र ४ मा पनि प्रशासनिक भवन , महत्त्वपूर्ण सामग्री, फाइल र कार्यालय उपकरण नष्ट भएका छन्।
स्थानीय स्रोतका अनुसार भाेक्राहा नरसिंह गाउँपालिकाभित्र मात्रै बलोरो १ थान, मोटरसाइकल ४ थान, ल्यापटप १७ भन्दा बढी, कम्प्युटर ४५ भन्दा बढी, प्रिन्टर २७ भन्दा बढी, एसी ९ थान, इनभर्टर–ब्याट्रीसहितका उपकरण, टेबल–कुर्सी र अन्य फर्निचर जलेर नष्ट भएका छन्। यसरी भएको क्षतिको मूल्यांकन गर्दा नोक्सानी करोडौँ रुपैयाँ बराबर पुगेको अनुमान गरिएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “भ्रष्टाचारविरुद्ध आवाज उठाउनु सकारात्मक कुरा हो, तर आफ्नै जनतालाई सेवा दिने संरचनालाई जलाउनु भनेको नागरिकलाई दोहोरो पीडा दिनु हो। जलेका अभिलेख अब कहिल्यै फिर्ता आउँदैनन्।” वडाध्यक्षहरूले पनि तत्काल क्षतिको मूल्याङ्कन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
यता प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीले आगजनीमा संलग्नहरूको पहिचान गर्न खोजी थालेको छ। प्रहरीका अनुसार CCTV फुटेज, प्रत्यक्षदर्शीका बयान र अन्य प्रमाणका आधारमा संलग्नहरूको नामावली तयार भइरहेको छ। भीडमा सहभागी धेरैजना मुखमा मफ वा मास्क लगाएका कारण पहिचान कठिन भए पनि अनुसन्धान तीव्र पारिएको छ।
यस घटनापछि गाउँपालिका र वडा कार्यालयका नागरिक सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन्। जन्म–मृत्यु दर्ता, सामाजिक सुरक्षा भत्ता, जग्गा सम्बन्धी काम, नागरिकता सिफारिस जस्ता दैनिक काम रोकिन पुगेका छन्। सेवा लिन आएका सर्वसाधारण निराश भएर फर्किन बाध्य भएका छन्। एक वृद्ध नागरिकले भने, “मेरो पेन्सनका लागि चाहिने कागजातै जले, अब म कहाँ जाऊँ?”
भाेक्राहा नरसिंह गाउँपालिकामा भएको आगजनी र तोडफोड केवल सम्पत्तिको मात्र क्षति होइन, जनताको अधिकारसँग प्रत्यक्ष जोडिएका सेवाहरूको पनि क्षति हो। करोडौँ बराबरको नोक्सानीसँगै गाउँपालिकामा त्रास, पीडा र निराशा छाएको छ। स्थानीयवासीले यस घटनालाई “आन्दोलन होइन, युद्धको दृश्य” भनी सम्झिरहेका छन्। यससँगै तत्काल प्राप्त भएको विवरणअनुसार मात्रै समाचार प्रकाशन गरिएको छ भने थप विवरण आउने क्रममा छ ।










Discussion about this post