सुनसरी । पछिल्ला दिनमा परेको अविरल वर्षाका कारण देवानगञ्ज गाउँपालिकाका विभिन्न वडामा रहेका कृषिक्षेत्रहरूमा व्यापक क्षति भएको छ। गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ र ६ मा बाढी र पानीको भरपुर प्रभाव परेको स्थानीय कृषकहरूले बताएका छन्।
स्थानीय तहका प्रारम्भिक विवरणअनुसार गाउँपालिकाभरि धान, तरकारी, केरा र उखु बालीहरूमा ठूलो मात्रामा क्षति पुगेको छ।
धान खेती गरिएको कुल ३०६ हेक्टर क्षेत्रफलमध्ये ठूलो भागमा पानी जम्दा बाली नष्ट भएको छ। 
तरकारी खेतीको ११५ हेक्टर क्षेत्रफलमा समेत क्षति पुगेको छ, जसले स्थानीय बजार आपूर्तिमा समेत असर पारेको छ। 
केरा खेती गरिएको २५ हेक्टर क्षेत्रफलमा बाढीको असरले बोटहरू ढलेका छन् र फलेका फल नष्ट भएका छन्। 
उखु खेतीको १९ हेक्टर क्षेत्रफलमा समेत पानी र हिलोका कारण उत्पादनमा कमी आउने अनुमान गरिएको छ। 
स्थानीय कृषकहरूका अनुसार वर्षाले खेतमा पानी जम्दा बाली सड्ने र उत्पादनमा ६० प्रतिशतसम्म क्षति पुग्ने सम्भावना रहेको छ। गाउँपालिकाले क्षति विवरण संकलन गर्न कृषि शाखा र वडा कार्यालयहरूलाई निर्देशन दिएको छ।
देवानगञ्ज गाउँपालिका अध्यक्षले भने, “हामी अहिले प्रारम्भिक तथ्यांक संकलन गर्दैछौं। प्रभावित कृषकहरूलाई राहत तथा पुनःखेतीका लागि आवश्यक सहयोगका कार्यक्रम अघि बढाइनेछ।”
बाढीका कारण स्थानीय किसानहरूलाई गम्भीर आर्थिक संकटको सामना गर्नुपरेको छ। कृषकहरूले तत्काल सरकारी राहत र पुनःखेतीका लागि बीउ, मल र प्राविधिक सहयोगको माग गरेका छन्।










Discussion about this post