सुनसरी — सप्तरीको बोदेबर्साइन नगरपालिका– ८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान गोली हानी हत्या गरिएको छ।
परिवारका सदस्य रामसुन्दर साहका अनुसार रामदुलार साह मन्दिर परिसरमा कुटी बनाएर एक्लै बस्दै आएका थिए। आइतबार बिहान करिब २ बजे अज्ञात व्यक्तिहरूको समूहले उनलाई कुटीबाट निकालेर सडकमा लगी पिठ्युँमा गोली प्रहार गरेको बताइएको छ। घटनास्थलमै मृत्यु भएको थियो।
स्थानीयहरूले गोलीको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि काचनली प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय सप्तरीका साथै इलाका प्रहरी कार्यालय कडरबोनको संयुक्त टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुईवटा गोलीका खोका फेला पारेको जनाएको छ।
पुजारीको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन्। उनका अनुसार सीमावर्ती क्षेत्रमा हाल शंकास्पद व्यक्तिहरूमाथि विशेष निगरानी र चेकजाँच तीव्र पारिएको छ।
स्थानीयवासीका अनुसार मृतक रामदुलार साह लामो समयदेखि कबिर बाबा मन्दिरका नियमित पुजारीका रूपमा सेवा गर्दै आएका थिए। घटनापछि गाउँमा त्रास र आक्रोश व्याप्त छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।










Discussion about this post