इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव कुमार थेबे पदभार सम्हालेको एक महिनामै तस्करी नियन्त्रणमा आक्रामक देखिएका छन्। भारतसँगको खुला सीमा भएर हुने चोरी–पैठारी, भन्सार छली र लागूऔषध तस्करी नियन्त्रणमा उनी नेतृत्वको प्रहरी प्रशासनले कडाइ थालेको हो।
सुनसरी प्रहरीले असोज महिनामा मात्रै ५७ लाख ६४ हजार ५५६ रुपैयाँ बराबरका भन्सार छली सामान बरामद गरेको छ। यसअघि सीमावर्ती क्षेत्रमा सहजै सञ्चालन भइरहेका तस्करीका गतिविधिहरूमा पछिल्लो समय उल्लेखनीय कमी आएको प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा निगरानी र चेकजाँच कडा
एसपी थेबेले असोज ६ गते कार्यभार सम्हालेको दिनदेखि नै जिल्लाका सबै प्रहरी युनिटहरूलाई सीमा सुरक्षा मजबुत पार्ने र तस्करी नियन्त्रणमा कठोर हुन निर्देशन दिएका थिए।
उनका अनुसार भण्टाबारी, लौकही, कप्तानगंज, हरीनगर, देवानगञ्ज र कोशी गाउँपालिका क्षेत्रमा रात्री गस्ती, सादा पोशाक प्रहरी, र सूचना संकलन टोली परिचालन गरिएको छ।
एसपी थेबेले भने, “सीमा क्षेत्रमा हुने तस्करी, अवैध सामान ढुवानी र आपराधिक क्रियाकलापमा शून्य सहनशीलता अपनाइनेछ। नागरिकको सहयोगबिना अपराध नियन्त्रण सम्भव छैन, त्यसैले सबैले प्रहरीलाई जानकारी दिन ढुक्क हुनुपर्छ।”
चाडबाड लक्षित प्रहरी सहायता कक्ष सञ्चालन
चाडबाडको समयमा हुने आपराधिक गतिविधि, ठगी, दुर्घटना र भीड व्यवस्थापनका लागि प्रहरी प्रशासनले विशेष सहायता कक्षहरू स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार जिल्लाका प्रमुख बजार र सीमावर्ती नाकामा अतिरिक्त प्रहरी बल र मोबाइल गस्ती टोली खटाइएको छ।
डीएसपी खतिवडा भन्छन्, “चाडबाडका समयमा भीड, किनमेल र यात्राको चाप बढ्ने भएकाले सुरक्षालाई प्राथमिकता दिइएको छ। सादा पोशाकका प्रहरी र महिला प्रहरी समेत परिचालन गरिएको छ ताकि चोरी, ठगी वा झडपजस्ता घटना हुन नदिन सकियोस्।”
अपराधमाथि शून्य सहनशीलता नीति
एसपी थेबेले कार्यकालको सुरुवातमै स्पष्ट नीति अवलम्बन गरेका छन्— “शून्य सहनशीलता र पूर्ण व्यावसायिकता।”
उनले मातहतका प्रहरीहरूलाई कुनै पनि अपराध वा अनियमिततामा संलग्न भए तत्काल कारवाही गर्ने चेतावनी दिएका छन्।
उनले भने, “प्रहरी संगठन अपराधीको होइन, पीडितको पक्षमा रहन्छ। अपराधी कस्तोैसुकै होस्, उसले कानुनी सजाय पाउँछ।”
एक महिनाको उपलब्धि र जनविश्वास
प्रहरीले एक महिनामै बरामद गरेका तस्करीजन्य वस्तुहरू सम्बन्धित भन्सार कार्यालयमा बुझाइसकेको छ, जसबाट ५७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको हो।
स्थानीय नागरिकहरूले पनि हालको प्रहरी सक्रियताले सीमा सुरक्षामा नयाँ आत्मविश्वास पैदा गरेको जनाएका छन्।
सीमावर्ती क्षेत्रका व्यापारीहरुको भनाइमा, “पहिले तस्करहरू राती–राति सामान भित्र्याउँथे, अहिले प्रहरीको निगरानी कडा भएकोले त्यस्तो सहज छैन।”
यता सुनसरी प्रहरीको पछिल्लो सक्रियता र संयोजनले जिल्ला अपराध नियन्त्रण र सीमा सुरक्षामा सकारात्मक सन्देश दिएको देखिन्छ।
एसपी थेबे र डीएसपी खतिवडाको संयोजनमा सञ्चालन भइरहेको अभियानले जिल्लालाई ‘तस्करीमुक्त क्षेत्र’ बनाउने लक्ष्य लिएको छ।










Discussion about this post