इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले छठ पर्व २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष आजादले आइतबार जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले समाजमा आपसी सद्भाव, धार्मिक आस्था र सांस्कृतिक एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।
उनका अनुसार सूर्यदेव र छठ माताको पूजा–अर्चना गरी निरन्तर चार दिनसम्म मनाइने यो पर्व विशेष रूपमा शान्ति, समृद्धि र परिवारको कल्याणसँग जोडिएको मानिन्छ। पर्वको क्रममा उपवास बसेर नदी, तलाउ तथा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने परम्परा छ, जसले प्रकृति र मानव जीवनको अभिन्न सम्बन्धलाई झल्काउँछ।
अध्यक्ष आजादले छठ पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै भनेका छन्, “यो पर्वले हामीबीचको एकता, विश्वास र आपसी सद्भावलाई अझ मजबुत बनाइरहेको छ।”
सन्देशमा उनले जातीय, धार्मिक तथा सांस्कृतिक विविधताबीच पनि नेपाली समाज एकअर्काप्रति हार्दिक सम्मान र समन्वयको भावनाले जोडिएको राष्ट्र भएको उल्लेख गरेका छन्। उनले यस चाडले राष्ट्र एकता, पारिवारिक सुख–समृद्धि र समाजमा निरन्तर शान्ति स्थापनामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
अन्त्यमा अध्यक्ष आजादले छठ पर्व मनाउने सबै श्रद्धालु भक्तजनको मनोकामना सिद्धि, परिवारमा खुशीयाली र समाजमा समावेशी सहकार्यको वातावरण विकास होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।










Discussion about this post