सुनसरी। सूर्य भगवान् र छठी माईको आराधनामा मनाइने आस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ। धार्मिक निष्ठा, अनुशासन र पवित्रताका साथ व्रत बसेका भक्तजनहरूले विभिन्न नदी, पोखरी, नहर र कृत्रिम जलाशयमा भेला भई सूर्य आराधना गरेका छन्।
सुनसरीका इनरुवा, इटहरी, दुहबी, भण्टाबारी, हरिनगर, भोक्राहा नरसिंह, कोशी र बराहक्षेत्र लगायतका क्षेत्रका छठ घाटहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको थियो। व्रतालु महिलाहरूले बाँसको सुपामा ठकुवा, भुसुवा, केरा, गाईको दूध, फूल र जल अर्पण गर्दै सूर्य भगवान्लाई अर्घ दिएका थिए।
धार्मिक परम्परा अनुसार, सूर्य उदाउँदा कम्मरसम्मको पानीमा उभिएर पूजा गर्ने र गाईको दूध, जल तथा फूल अर्पण गर्ने विधि छ। छठ पूजाको यो विधि भिन्सरघाट नामले चिनिन्छ, जसमा बिहानै घाटमा सामूहिक पूजा गरिन्छ।
पृथ्वीमा जीवधारीहरूको जीवन संचालन र संरक्षण सूर्य र जलबाट हुने विश्वासमा आधारित यो पर्व कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्छ। धर्मशास्त्रविद्हरूका अनुसार सूर्यषष्ठीको पूजाबाट मनोकाङ्क्षा पूरा हुने र इच्छित फल प्राप्त हुने विश्वास रहँदै आएको छ।
यस अवसरमा विवाहित महिलाले पति–पत्नीकै दीर्घायुको कामना गर्ने र अविवाहित युवतीहरूले सुयोग्य वर प्राप्तिको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ। धेरै भक्तजनहरू सन्तान प्राप्तिको आकांक्षामा पनि यो पर्व मनाउँछन्।










Discussion about this post