विराटनगर । सशस्त्र प्रहरीले पाएको विशेष सूचनाका आधारमा जाँचपास भइसकेको मालसामान बोकेको एउटा ट्रक विराटनगर भन्सार कार्यालय परिसरमै रोकिएको छ। उक्त ट्रकमा बीलमा उल्लेख भएको भन्दा बाहेकको क्यारिङ वा तस्करीको सामान थपिएको आशंका गरिएको छ।
भन्सार जाँचपासमा संलग्न भन्सार एजेन्ट सौगात पोखरेलको फर्मबाट प्रतिनिधिका रूपमा काम गर्दै आएका कुन्दन मण्डललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।
स्रोतका अनुसार मंगलबार भन्सार जाँचपास सम्पन्न भएको उक्त ट्रकबारे सशस्त्र प्रहरीको भन्सार गस्ती टोलीलाई अतिरिक्त सामान राखिएको सूचनापछि तत्काल नियन्त्रणमा लिन निर्देशन दिइएको थियो।
सशस्त्र प्रहरी डिआईजीसम्म सूचना पुगेपछि कारवाही अघि बढाइएको हो। पछिल्लो समय रानी क्षेत्रमा डिएसपी खतिवडाको नेतृत्वमा तस्करी नियन्त्रणमा कडाई भएपछि भन्सार परिसरबाटै विभिन्न जुक्ति प्रयोग गरी क्यारिङ हुँदै आएको तथ्य सार्वजनिक हुँदै आएको छ।
भन्सार स्रोतका अनुसार बस्तु खरिदको आधिकारिक बीलका आधारमा मात्रै जाँचपास गरिनुपर्ने भए पनि कतिपय एजेन्टहरूले आयातकर्तासँग मिलेमतो गरी थप सामान भित्र्याउने गरेका छन्।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी बिमलकुमार साहका अनुसार ट्रक नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। उनले भने, “भन्सार प्रक्रिया विपरीत सामान थपिएको आशंकामा गाडी नियन्त्रणमा लिइएको हो, विस्तृत अध्ययन भइरहेको छ।”
यसैबीच, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले भन्सार कार्यालयले अनुसन्धानका लागि कुन्दन मण्डललाई हिरासतमा पठाएको पुष्टि गरे।
भन्सार एजेन्ट सौगात पोखरेलले मण्डल आफ्नै दाइ भएको र आफ्नो एजेन्ट नम्बरबाट काम गर्दै आएको स्वीकार गरेका छन्।










Discussion about this post