विराटनगर — मोरङ प्रहरीले विराटनगर–६ स्थित केशलिया पुल नजिक वेवारिसे अवस्थामा फेला परेको ठूलो परिमाणको माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ। शनिबार साँझ करिब ५० किलो रहु र ५० किलो सिद्रा माछा केशलिया खोलामा भेटिएपछि प्रहरीले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा उक्त माछा नष्ट गरेको हो।
मोरङ जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता डिएसपी कोपिला चुडाँलका अनुसार रहु माछा फ्रिजरमा राखिएको अवस्थामा र सिद्रा माछा बोरामा फेला परेका थिए। उनले भनिन्, “माछाको स्रोत, संकलन र ढुवानीसम्बन्धी कुनै प्रमाण नपाइएकाले कानुनी प्रक्रिया अनुसार नष्ट गरिएको हो।”
प्रहरीले पछिल्ला दिनमा माछा तथा अन्य खाद्य वस्तुको अवैध संकलन र ढुवानी रोक्न विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ। डिएसपी चुडाँलका अनुसार “बिना प्रमाण माछा संकलन, बिक्री वा ढुवानीमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिनेछ।”
स्थानीय जनप्रतिनिधिहरूले पनि प्रहरीको कारबाहीलाई स्वागत गर्दै जनस्वास्थ्य र सरसफाइका दृष्टिले यस्तो निगरानी आवश्यक रहेको बताएका छन्।











Discussion about this post