अर्जुन चाैधरी/इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कोशी आधारभूत विद्यालयमा निर्माण गरिएको नवनिर्मित अपाङ्गमैत्री भवन शुक्रबार एक विशेष समारोहबीच समुद्घाटन गरिएको छ। कार्यक्रममा पूर्वमन्त्री भगबती चौधरी र चाइल्ड रेस्क्यू नेपालका कार्यकारी निर्देशक जो वेगाले संयुक्त रूपमा दुई कोठे भवन, अपाङ्गमैित्री तथा बालमैत्री शौचालय र स्वच्छ खानेपानी संरचनाको उद्घाटन गरे।
श्री साथी नेपालको साझेदारी तथा चाइल्ड रेस्क्यू नेपालको सहयोगमा निर्माण गरिएको भवनमा ईसीडी कक्षा र डिजिटल बोर्डसहितका दुई कोठा सामेल छन्। भवन निर्माणअघि बालबालिकाहरू खुला आकाशमुनि कक्षा सञ्चालन गर्न बाध्य रहेकाले नयाँ पूर्वाधारले उनीहरूलाई प्रत्यक्ष राहत मिलेको विद्यालय व्यवस्थापनले जनाएको छ।
भवन निर्माण प्रक्रिया अघि बढाउन पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष पहल गरेको कार्यक्रम संयोजक भीमप्रसाद उपाध्यायले जानकारी दिए।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी चौधरीले गुणवत्तापूर्ण शिक्षामा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्। “घाम–पानी र असजिलो वातावरणमा अध्ययन गर्दै आएका बालबालिकाले अब सहज र सुरक्षित सिकाइ वातावरण पाउनेछन्,” पूर्वमन्त्री चौधरीले भनिन्। उनले विद्यालय भवन निर्माणमा हातेमालो गरेको दातृ निकाय तथा साझेदार संस्थाहरूप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा बर्जु गाउँपालिकाका प्रमुख जिवछ राय, चाइल्ड रेस्क्यू नेपालका प्रतिनिधि डा. जोन, कन्ट्री डाइरेक्टर भाष्कर कार्की, अभिभावक, शिक्षक तथा सरोकारवाला सहभागी थिए।
उद्घाटनसँगै विद्यालयले अब समावेशी र प्रविधिमैत्री सिकाइ वातावरण विस्तार हुने अपेक्षा गरिएको छ।














Discussion about this post