इनरुवा । मोरङको लेटाङ नगरपालिका–२ फडानी बस्ने १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले उनका ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई सार्वजनिक गरेको छ। प्रहरीले मंसिर १९ गते (शुक्रबार) पक्राउ गरेका अधिकारीलाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान र अधिकारीको बयानअनुसार उनले अंशुलाई घर नजिकैबाट जंगलतर्फ लगेका थिए। घरदेखि करिब चार किलोमिटर टाढा रहेको बेलबारी–चिसाङ साझेदारी वनभित्र पुर्याएर अंशुमाथि बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले भने, “घाँस काट्न जाने बहानामा जंगल लगेका रहेछन्। जंगल लैजाँदै गर्दा नै बलात्कार गर्ने योजना बनाएको देखिन्छ।”
अंशु असोज २१ गतेदेखि हराएकी थिइन्। खोजीक्रममै कात्तिक ७ गते लेटाङ नगरपालिका–२ भित्र पर्ने बेलबारी–चिसाङ साझेदारी वनमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव फेला परेपनि हत्या भने हराएको दिन असोज २१ गते नै भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।
अंशुको हत्या प्रकरणपछि प्रहरीले ‘जस्टिस फर अंशु’ अभियानकै रूपमा अनुसन्धान अघि बढाएको थियो। अपराधी छिमेकमै रहे पनि प्रहरीलाई पक्राउ गर्न ४२ दिन लागेको हो। कात्तिक ७ गते शव फेला परेपछि केन्द्रीय, प्रदेश र जिल्ला प्रहरीसहित ठूलो संख्यामा प्रहरीबल लेटाङ क्षेत्रमा खटिएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले ३०० जनासँग सोधपुछ, ५४ जनाबाट लिखित बयान र १२ जनाको पोलिग्राफ (झुटो परीक्षण) समेत गरेको एसपी कटुवालले जानकारी दिए। कम्युनिटी प्रोफाइलिङमार्फत सिंगो बस्तीको व्यवहार, चलअचल गतिविधि र शंकास्पद पक्षहरू सूक्ष्म रूपमा अध्ययन गरिएको थियो।
उनका अनुसार, “सिंगो गाउँसँग कुरा गरियो, धेरैको पोलिग्राफ गरियो। वैज्ञानिक ढंगले प्रमाण संकलन गरिरहँदा अधिकारी बीचमा हराएर भारत झरेका कारण पनि समय थप लाग्यो।”
शव फेला परेको १२ दिनपछि कात्तिक १९ गते अधिकारी भारततर्फ हिँडेका थिए। त्यतिबेला पनि प्रहरी उनीमाथि प्रत्यक्ष शंका गर्ने अवस्थामा पुगेको थिएन। कात्तिक १८ गते उनले कारागारमा रहेका आफ्ना छोरालाई छुटाएर भोलिपल्ट मेघालयतर्फ लागेको जानकारी आएपछि मात्रै प्रहरीको शंका उनैतर्फ बलियो रूपमा केन्द्रित भएको अनुसन्धानबाट प्रष्टिएको छ।
अनुसन्धानक्रममा अधिकारी यसअघि पनि बालिका करणी प्रकरणमा संलग्न भएको, तर गाउँभित्रै मिलापत्र गरेर टुङ्ग्याइएको घटनाबारे जानकारी बाहिर आएको छ। चिसाङ खोलाले बस्ती बगाएपछि रेडक्रसमार्फत फडानी क्षेत्रमा स्थानान्तरण भएको सो बस्तीमा अधिकारीका यस्ता घटना दोहोरिएको स्थानीयले बताएका छन्।
अधिकारीसँग नजिक रहेका एक स्थानीयवासी उद्धृत गर्दै, “पहिलेको करणीको घटना गाउँमै मिलाइयो, त्यतिबेला बाहिर खासै बोलेनन्, अहिले भने त्यो कुरा फेरि उठ्न थालेको छ,” भन्ने तथ्य बाहिर आएको छ। तर एसपी कटुवालले संस्थागत रूपमा दर्ता नभएका पुराना घटनालाई अहिलेको मुद्दासँग जोडेर निष्कर्ष ननिकालिने बताए। उनका अनुसार, “अहिले आएका धेरै कुरा प्रारम्भिक सूचना र गफ–गफका रूपमा छन्। प्रहरीमा दर्ता भएका वा कानुनी रूपमा स्थापित नहुँदासम्म त्यतिबाट आधिकारिक निष्कर्ष निकाल्न मिल्दैन।”
प्रहरीले अनुसन्धानका क्रममा अंशुको हत्या प्रकरणमा एकजनामात्र संलग्न रहेको निष्कर्ष निकालेको छ। शव फेला पर्ने स्थल, घाँस काट्न गएका लोचन शाहीलगायत तीन जनाले शव देखेको अवस्थादेखि लिएर जंगलभित्र जाने बाटो, घाँसको स्थिति, आवतजावतको तथ्य सबैलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको थियो।
लामो वैज्ञानिक र समुदाय–केन्द्रित अनुसन्धानपछि पक्राउ परेका पदमबहादुर अधिकारीमाथि अब बलात्कारसँग जोडिएको हत्या (कञ्चन हत्या) सम्बन्धी मुद्दामा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।










Discussion about this post