विराटनगर — मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालमै पहिलोपटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्न लागेको छ। यो कार्यक्रम तीन वर्षे डिप्लोमा पुरा गरेका जुनियर सिभिल ईन्जिनियर (जुई) हरुका लागि स्विस सरकारसँगको साझेदारीमा संचालन हुनेछ।
विश्वविद्यालय र स्विस कन्ट्रयाक्टबीचको सम्झौताअनुसार, कार्यक्रमले कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, र पेशागत दक्षता मापदण्ड समेटेर पाठ्यक्रम तयार पार्नेछ। यसले जुनियर ईन्जिनियरहरुलाई औद्योगिक क्षेत्रमा प्रत्यक्ष अनुभव र दक्ष जनशक्ति प्रदान गर्नेछ।
मनमोहन प्राविधिक विश्वविद्यालयकी डिन डा. रेखा श्रेष्ठका अनुसार, विटेक कार्यक्रमले नेपालका युवालाई उच्चस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउनेछ र देशको औद्योगिक क्षेत्रलाई नयाँ दिशामा अघि बढाउनेछ। स्विस कन्ट्रयाक्टका कन्ट्री डायरेक्टर संजय कार्कीले पनि यस सहकार्यले नेपालमा सीप विकास र श्रम बजारलाई सुदृढ पार्ने विश्वास व्यक्त गरे।
यसअघि एसईईपछि तीन वर्षे डिप्लोमा गरेका जुनियर ईन्जिनियरहरुका लागि प्राविधिक शिक्षा जारी राख्ने स्पष्ट मार्ग नहुँदा चुनौती भएको थियो। विटेक कार्यक्रमले उनीहरुको पेशागत उन्नतिमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ।










Discussion about this post