इटहरी । इटहरीमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले गरे ।
जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पहिलो दिन चारवटा कि नोट प्रस्तुत गरियो । जसमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौँ नेपाल रोजर एफ कोहेनले प्रस्तुती गरे । सम्मेलनमा चारवटा किनोट स्पिच प्रस्तुत हुने कार्यक्रम छ ।
सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषाशिक्षण जस्ता विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा सरोकारवालाहरू बिच अन्तरविषयक संवाद र सहयोगलाई विशेष महत्व दिँदै समकालीन चुनौतीहरूप्रति समग्र दृष्टिकोणलाई बढावा दिन योगदान पुग्ने विश्वास लिइएको छ । जसका लागि विषय विज्ञहरुले ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बताए ।
सम्मेलनको उद्घाटन सत्रमा पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले समय सापेक्ष शिक्षामा नयाँ नयाँ अध्ययन अनुसन्धान हुनुपर्ने बताए । उनले अध्ययन अनुसन्धानले देखाएको बाटोमा आधारमा अघि बढेर देशलाई रुपान्तरणको दिसामा अघि बढाउनुपर्नेमा जोड दिए । सोही क्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले राजनीतिक दल र नेताप्रति हरेक सर्वसाधारणको वितृष्ण जागि रहेका बेला साँच्चै दल नेता तथा दलको रुपान्तरण गरेर परिवर्तन ल्याउने शिक्षाको सुधारबाटै अनुसन्धान हुनुपर्ने बताए । ‘अहिले पछिल्लो समय जहाँ पनि नेतालाई मात्र गाली गर्छन,’ उनले भने, ‘यस्ता शैक्षिक सम्मेलनले अब विषयवस्तुलाई समय अनुसार बदलेर सकारात्मक परिवर्तन ल्याउनुपर्छ ।’
इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको बताए । उनले पनि समाजका हरेक नागरिकलाई सकारात्मक बाटोतर्फ अग्रसर हुने गरि अब शिक्षामा अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।
नेपालकै सामूदायिक कलेजमध्ये जनता बहुमुखी कलेज धेरै विद्यार्थी भएको कलेजमा पर्छ । त्यसमा पनि कोशी प्रदेशको केन्द्रमा पर्ने र सवैलाई पायक पर्ने अनि विद्यार्थी अध्ययन गर्न आउनेको रोजाईको केन्द्र बनेको छ ।
सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको र अन्य निजी कलेजलाई अभिभाकत्व निर्वाह गर्ने भूमिका खेल्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए । सम्मेलनमा विदेशका चार देशबाट देशका वक्ता र नेपालका नाम चलेका शैक्षिक विज्ञहरुको प्रस्तुती रहेको छ । कार्यक्रममा विशेषगरी बढी मात्रमा कोशी प्रदेशकै बढी सहभागी छन् ।
क्याम्पसलाई ५१ लाख रुपैयाँको अक्षयकोष
इटहरीका उद्योगी व्यापारी भिमबहादुर पौडेलले जनता बहुमुखी क्याम्पसमा गरिव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न ५१ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने भएका छन् । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनका क्रमममा अक्षयकोष खडा गर्ने घोषणा गरेका हुन् ।
पौडेलले राख्ने अक्षयकोषबाट चाडै कार्यविधि बनाएर रकम प्रदान गरिने जानकारी दिइयो । धनकुटाको मारेकटहरेबाट व्यापार गर्न इटहरी झरेका पौडेल दृढ संकल्पका साथ व्यापारमा लागेकैले गर्दा पछिल्लो समय नामूद भएका छन् । उनले केही हदसम्म अकल्पनीय सफता हात पारेका छन् ।
२१ वर्षको उमेरमा बसन्तपुरमा साझेदारीमा नुनको व्यापार थालेका पौडेल २०५६ सालदेखि इटहरीमा व्यवसाय गरिरहेका छन् । केही समय सरकारी जागिर खाएको पैसा र केही ऋणसहित १० हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेका उनी आफ्नो व्यवसाय बढाउदै अहिले पूर्वी नेपालमै गनिने उद्यमी भएका हुन् ।
नुनको व्यापारसँगसँगै ढुवानी व्यवसाय गरेका भिम क्रसर र निमार्ण व्यवसायबाट चम्किएका हुन् । उनी अहिले यी व्यवसायसँगै इटहरी हलगढामा सोल्टी होटल सञ्चाललन गरेका छन् । तालतलैया नजिकै झन्डै ४० करोडको लागतमा नमूना पार्क सञ्चालन गरेका छन् । अरु थुप्रै व्यवसायमा वितरकका रुपमा पनि स्थापित छन् ।
२० वर्ष अघि भिम नुनका बोरा ट्रकमा लोड–अनलोड गर्थे । अहिले पौडेल व्यक्तित्वले होइन नभएर व्यवहारले, सम्पन्नताले नभएर संस्कारले उचाइ तर्फ लम्की रहेका व्यवसायी हुन् । समाजले सानो भन्ने गरेको कामलाई पनि सम्मानका साथ अङ्गालेर आफ्नै देशमा हजारभन्दा बढीलाई रोजगारी दिएका छन् ।
पौडलेले मानव चोलाको विदाइ गरिने घाट बनाउनेदेखि सुंसस्कृत नागरिक बनाउने स्कुल बनाउने काममा भिमको सहभागिता छ । पर्यटक पुग्ने भेडेटारमा सेल्फी खिच्ने शङ्ख बनाउने काम होस् वा धरान पानबारीमा लागूऔषध प्रयोगकर्ताका लागि सुधार केन्द्र, मोरङको रमिते र लेटाङ्का धुले सडक कालोपत्रे बनाउने काम होस् या त्यहाँका विद्यालय, कलेज तथा सामाजिक संस्थाका भवन निर्माणमा उनको सहभागिता छ । त्यहाँका सडकमा, भवनहरुमा र त्यहाँका मान्छेका हृदयमा पनि भिमको नाम छ । मोरङको सुन्दर हरैँचा स्थित सलकपुरमा यो प्रदेशकै नमूना ब्याडमिन्टन हल निमार्ण भएको छ, जहाँ पौडेलले सात लाख सहयोग गरेका छन् ।
इटहरीको मुक्तिधाम पुनःनिर्माणमा ५१ लाख सहयोग गरेका छन् । उनले लेटाङ्को कमलपुर र किर्तिमानमा झन्डै सात किलोमिटर सडक आफ्नो एकल लगानीमा कालोपत्रे गरि दिएका छन् । शान्ति भगवती माविमा भवन बनाइ दिएका छन् । इटहरी वडा नं. ४ मा झन्डै एक किलोमिटर बाटो उनले आफै पिच गरि दिएका छन् । क्लब होस् या राजनीतिक दल पौडेलले कुनै न कुनै सहयोग गरेकै छन ।










Discussion about this post