सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोमबार दिउँसो करिब १२ बजे माप्य दूधकोशी–६ वाकु चोकबाट वडा नम्बर ७ वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याप बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको हो।
दुर्घटनामा जिप चालक माप्य दूधकोशी–५ का २८ वर्षीय प्रदीप राई र सोही उमेरकी यात्रु कुशुम राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको डीएसपी मनोजित कुँवरले जानकारी दिए।
दुर्घटनामा परी २७ वर्षीय बलराम राई, ३० वर्षीय देवेन्द्र राई र ३१ वर्षीय सुरेश राई गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
यस्तै, १९ वर्षीय मनोज राई र १७ वर्षीय सन्दीप राईको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने २७ वर्षीया देविका राई र २७ वर्षीया सविना राई सामान्य घाइते भएकाले वाकु स्वास्थ्य चौकीमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।











Discussion about this post